झापा,जेठ ३ । गृहमन्त्री रमेश लेखक आज सगरमाथा आधारशिविर (बेसक्याम्प) क्षेत्रको निरीक्षण भ्रमणमा पुगेका छन्।

पर्यटकीय सिजनको सन्दर्भमा आरोहीहरूको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन र शान्ति सुरक्षासम्बन्धी अवस्था अवलोकन गर्न शनिबार उनी खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा आधारशिविर पुगेका हुन्।
गृहमन्त्री लेखकले सरकारले सगरमाथा क्षेत्रमा उद्धार, पर्वतारोहण सहयोग र पर्यटकहरूको सहजताका लागि निर्वाध रूपमा हेलिकप्टर उड्ने वातावरण सिर्जना गर्न तत्पर रहेको बताए। शारीरिक रूपमा कमजोर वा दुर्घटनामा परेका पर्यटकको उद्धारका लागि हेलिकप्टर अत्यावश्यक रहेको उल्लेख गर्दै उनले सरकारको नीति यस्तो सेवालाई सहज र समन्वित बनाउने दिशामा केन्द्रित हुने स्पष्ट पारे।
उनले भने,‘सगरमाथा क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सरकारले अब फरक ढंगले जनमुखी नीति कार्यान्वयन गर्दैछौँ, हामी उद्धारका हेलिकप्टर उडानमा रोक लगाउने होइन, अव्यवस्थित र अनावश्यक उडानलाई नियमन गर्ने तयारीमा छौँ ।’
सगरमाथा क्षेत्रमा उद्धार बाहेकका हेलिकप्टर उडान रोक्नुपर्ने स्थानीयले माग गर्दै आएका छन्। खुम्बु पासाङल्हामु गाउँपालिकाले बारम्बार हेलिकप्टरको दुरुपयोग भएको भन्दै नियमित उडान रोक्न आग्रह गर्दै आएको छ।
तर पर्यटन व्यवसायीहरूले अत्यधिक हेलिकप्टर उडानमा प्रतिबन्धले व्यवसायमा नकारात्मक असर परेको जनाउँदै नियमनसहितको स्वतन्त्रता माग गर्दै आएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्