झापा, जेठ ३ । व्यक्तिको जग्गामा राज्यको लाखौं रकम लगानी गरेर १६ वर्षसम्म पनि नबनेपछि तीन दलले कोलाटोली खानेपानी योजनाको बारेमा चासो व्यक्त गरेका छन् । उनीहरुले अहिलेसम्म हरहिसाव पारदर्शी नगर्नुको पछाडि कोलाटोली खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा अनियमिततासमेत भएको आशंका गर्दै गलत र गैरकानुनी कार्य अविलम्व रोक्न चेतावनीसमेत दिएका छन् ।

शनिवार बिर्तामोड ९ मा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले गलत विधि र प्रक्रियाबाट कोलाटोली खानेपानी योजना निर्माण भइरहेको भन्दै बेलैमा गलत कार्यलाई नसुधारे त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका हुन् ।

२०५९ सालमा बिर्तामोड ९ का स्थानीयबासी समेत रहेका राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण शिवाकोटीले कोलाटोली खानेपानी योजनाका लागि ४ कठ्ठा जग्गा दान दिएका थिए । जुन जग्गा अझै कोलाटोली खानेपानी समितिको नाममा आइसकेको छैन । शिवाकोटी संस्थाका संस्थापक अध्यक्ष हुन् ।

करिब १६ बर्ष अघिदेखि त्यस जग्गामा निर्माण शुरु भएको कोलाटोली खानेपानी योजनाको काम हालसम्म पूरा भएको छैन । सो खानेपानी योजनामा एउटा खानेपानी ट्याङ्की, दुई वटा प्रशासनिक भवन र कम्पाउण्ड वाल निर्माण भएपनि जीर्ण बन्दै गइरहेको स्थानीयबासीसमेत रहेका नेपाली कांग्रेस ९ नम्बर वडा सभापति बासु अधिकारीले बताए । करिब १ किलोमिटर पाइप लाइन विस्तार गरेको र अन्य पाइपहरु जथाभावी अवस्थामा रहेको उनले बताए ।

व्यक्तिको जग्गामा निर्माण थालेर १६ वर्षसम्म नबनेको कोलाटोली खानेपानी समितिमा बेतिथि देखिएको भन्त्दै तीन दल विरुद्धमा उभिएका छन् । पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका बिर्तामोडका कार्यवाहक नगर सभापति तथा वडा नम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले व्यक्तिको नाममा रहेको जग्गामा राज्यको लाखौ रकम दुरुपयोग भएको भन्दै गलत गर्नेहरुलाई सुध्रिन मौका दिइने बताए । उनले यदि जबरजस्ती गरे त्यसको परिणाम भोग्नु पर्ने चेतावनी दिए । वडाध्यक्ष कन्दङ्वाले सो विषय बिर्तामोड नगरपालिकाको कार्यपालिका बैठकमा उठाउने बताए ।


नेकपा माओवादी केन्द्रका बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बाले कोलाटोली खानेपानी समितिले गर्दै आएको गलत काम तत्काल रोक्न चेतावनी दिए । उनले विधि र प्रक्रिया नपुर्याइ गरिएको काम रोक्ने आफूहरुको अधिकार रहेको भन्दै कोलाटोली खानेपानीको बेथितिमा वडा कार्यालय पनि जिम्मेवार रहेको आरोप लगाए ।

राप्रपाका नगर अध्यक्ष लक्ष्मी गौतमले बिर्तामोडमा भएका विभिन्न बेतिथिविरुद्ध नगरपालिकामा यसअघि नै राप्रपाले ज्ञापनपत्र बुझाउने क्रममा कोलाटोली खानेपानीको समेत बिषय उठान गरेको स्मरण गराए । उनले कोलाटोली खानेपानी समितिको बेतिथिविरुद्ध आवाज उठाउनका लागि कांग्रेसलाई नेतृत्व गर्न आग्रह गर्दै त्यसमा अन्य दलको सहयोग रहने प्रतिवद्धता जनाए ।

त्यस्तै नेपाली कांग्रेसका जिल्ला सदस्य नारायण पौडेलले कोलाटोली खानेपानी समितिको बेतिथिविरुद्ध अख्तियारमा जाने चेतावनी दिए । पत्रकार सम्मेलनमा तरुण दलका केन्द्रीय सदस्य सजेश शिवाकोटी, माओवादी केन्द्रका ९ नम्बर वडाध्यक्ष केशव उप्रेती, राप्रपाका वडाध्यक्ष वसन्त खड्का, माओवादी केन्द्रका नगर सचिव जगन्नाथ भट्टराई, समाजसेवी धर्म लक्सम्बालगायतको उपस्थिति रहेको थियो ।

यता जग्गादाता हरिचरण शिवाकोटीले आफ्नो नाममा रहेको जग्गा कोलाटोली खानेपानी समितिलाई पास गरेर दिन आफू सदैव तयार रहेको बताए । संस्थाले नै जग्गा पास गरेर लिन ढिलाई गरिरहेको उनको भनाई छ । ‘ स्थानीय उपभोक्ताहरुले शुद्ध खानेपानी पिउन पाउँछन् भनेर जग्गा निःशुल्क दिएका हौ । खानेपानी निर्माणको काम भइरहेको छ ’ उनले भने ,‘ केही गलत व्यक्तिहरुले जथाभावी बौल्दै हिडेका छन् । ’

संस्थापक अध्यक्ष हरिचरण शिवाकोटीपछि ध्रुवकुमार शिवाकोटी समितिको अध्यक्ष बनेका थिए । उनले काम गर्न नसकी बीचैमा छाडेको बताइएको छ । अहिले प्रेमप्रसाद भण्डारी अध्यक्ष छन् ।

समिति भंग गर्नुपर्ने माग
तीन दलले केही दिनअघि एकलौटीरुपमा गठन भएको समिति भंग गरिनु पर्ने माग गरेका छन् । दलका ती प्रतिनिधिहरुले सर्वदलीय र सर्वपक्षीयरुपमा आम उपभोक्ताहरुको भेलाबाट समिति गठन गर्नुपर्ने मागसमेत गरेका छन् । नेकपा एमालेनिकट भनिएको उपभोक्ता भेलाबाट गठन भएको समितिको अध्यक्षमा एमाले बिर्तामोड–९ वडा कमिटी अध्यक्ष प्रेमप्रसाद भण्डारी चयन भएका छन् ।

१३ सदस्यीय समितिको उपाध्यक्ष गौरीप्रसाद घिमिरे, सचिव हरिबहादुर कार्की, कोषाध्यक्ष विष्णुमाया कोइराला र सहसचिवमा राजेन्द्र सिटौला रहेका छन्। त्यस्तै सदस्यहरूमा तारानिधि खनाल, शान्ति मर्डी, कल्पना बिक, जयराज ढकाल, कृष्णप्रसाद उप्रेती, मोहन उप्रेती र पर्शुराम पाठक रहेका छन्।

यसअघि फागुन ७ गते लक्ष्मी मोतेको अध्यक्षतामा सम्पन्न भेलाले कोलाटोलीमा खानेपानी योजना सञ्चालन गर्न नयाँ उपभोक्ता समिति गठन प्रक्रिया अगाडि बढाएको थियो। कोलाटोली खानेपानी योजनाका लागि ७० लाख रुपैयाँ बजेट आएको बताइएको छ । वडा सभापति अधिकारीले भण्डारीको अध्यक्षतामा गठन भएको समितिमा कांग्रेसले आधिकारिक व्यक्ति नपठाएको भन्दै समितिमा बसेका पार्टीका व्यक्तिलाई समिति छोड्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्