बिर्तामोड , जेठ ४ । झापाको दमक नगरपालिकाले फ्याँक्ने फोहोरका कारण दुर्गन्ध खेप्नु परेपछि इलाम चुलाचुलीवासीले आज पनि फोहोर फ्याल्न अवरोध गरेका छन् ।

आज साँझ चुलाचुली गाउँपालिकाको पेल्टीमारी जाने पक्की पुल छेउमा फोहोर मैला ब्यवस्थापन संघर्ष समिति चुलाचुलीको आयोजनामा दमक नगरपालिका तर्फबाट फोहोर ल्याउन अवरोध गरिएको हो ।
दमक नगरपालिकाबाट अब्यवस्थित फ्याँकिएको फोहोरबिरुद्धको अनिश्चितकालीन जनसंघर्ष तथा बिरोध कार्यक्रमअन्तर्गत ‘अब्यवस्थित फोहोर फ्याँक्ने कार्य बन्द गर, फोहोर मैला प्रशोधन केन्द्र स्थानान्तरण गर, नागरिकको स्वास्थ्यमाथि खेलवाड बन्द गर’ लेखिएको ब्यानर बोकी उनीहरुले विरोध गरेका छन् । यस बिषयमा भोली दिउँसो १ बजे दमक नगरपालिकाको कार्यालयमा चुलाचुली गाउँपालिकाका प्रमुख समेतको उपस्थितिमा छलफल हुने बुझिएको छ ।
दमक नगरपालिका र चुलाचुली गाउँपालिकाको सिमानामा रहेको दमक– २ स्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा दैनिक २६ टन फोहोर फ्याँकिँदा चुलाचुली– ५ को रमाइलो बस्ती, चपेटी, कोलडाँडा, चन्द्रनगर, शिखरकटेरी, आँपझोला, धिमालटार बस्ती प्रभावित भएका छन् ।