झापा, जेठ ९ । झापामा भएका सवारी दुर्घटनामा दुईजना मोटरसाइकल चालक घाइते भएका छन् ।

आज दिउँसो अन्दाजी ४ बजे मेचीनगर नगरपालिका वडा नम्वर –९ झण्डी चौकस्थित भित्री पक्की सडकखण्डमा मागुरमारीबाट मंगलबारेतर्फ जाँदै गरेको डब्लुबी ६० एल ५५३९ नम्वरको सुमोले बाटो क्रस गर्दै गरेको प्र.१–०१–०१५ प.५२०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका वडा नम्वर–८ इटाभट्टा बस्ने २४ वर्षीय रोहन कोईराला गंभीर घाइते भएका छन् । उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । मोटरसाइकल, सुमो र सुमो चालक भारत कालेबुङ घर भई हाल मेचीनगर नगरपालिका वडा नम्वर–६ काँकरभिट्टा बस्ने ४७ वर्षीय शरण शर्मा इलाका प्रहरी कार्यालय धुलाबारीको नियन्त्रणमा रहेका छन् ।

त्यस्तै आज दिउँसो ३ः३० बजे कनकाई नगरपालिका वडा नं. १ जामुनबारीस्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको मे.९प ६२९९ नं.को मोटरसाइकललाई बाटो क्रस गर्ने क्रममा सोही दिशातर्फ आउँदै गरेको बा.९च ५२० नं.को पिकअपले ठक्कर दिएको छ । दुर्घटनामा मोटरसाइकल चालक दमक नगरपालिका वडा नं. ७ बस्ने ४७ वर्षीय रमेश सेवा दर्जी घाइते भएका छन् । घाइतेलाई उपचारको लागि निम्स अस्पताल दमक पठाइएको छ ।
पिकअप चालक सिन्धुली नगरपालिका वडा नं. ११ बस्ने २८ वर्षीय अमर बिश्वकर्मालाई नियन्त्रणमा लिएको र दुवै सवारी साधन खाल्डोमा पल्टेकाले निकाल्ने पहल भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।