झापा, जेठ ११ । ९ वर्षअघि झापाका चर्चहरुमा बम विष्फोट गराएको आरोपमा पक्राउ परेका राष्ट्रिय संयुक्त मोर्चाका अध्यक्ष रामचन्द्र बानियाँले राजावादीहरुको आन्दोलनमा नजान अपिल गरेका छन् ।

यही जेठ १५ गतेदेखि राजधानीमा राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका राजावादी शक्तिहरुले अनिश्चितकालीन आन्दोलन गर्न लागेका बेला बानियाँले सो आन्दोलनमा नजान अपिल गरेका हुन् ।

आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी बानियाँले मण्डलेहरु आफूलाई बाहेक अरुलाई उठ्नै नदिने र जनविद्रोहलाई आफ्नो स्वार्थी प्रपञ्चको शिकार बनाउने गतिविधि गरेकाले विरोध गरेको भन्दै १५ गतेबाट घोषित आन्दोलनमा नजान अपिल गरेका हुन् । उनले सडकमा विद्रोह गरिरहेका देशभक्त ,बामपन्थी ,प्रजातन्त्रवादी र राष्ट्रवादी दलहरुले एक वृहत मोर्चा बनाई शान्तिपूर्ण जनआन्दोलनको तयारीलाई समर्थन गर्न आव्हान गरेका छन् ।

२०७३ सालमा झापाका चर्चहरुमा बम विष्फोट गराएको आरोपमा बानियाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्ने अन्यमा कटहरी–१ मोरङका ५१ वर्षीय राम भण्डारी र बिर्तामोड–७ का ५६ वर्षीय कृष्ण चुडाल रहेका थिए ।

भण्डारी हिन्दु मोर्चा नेपालका सैन्य कमान्डर थिए भने चुडाल राष्ट्रिय हिन्दु धार्मिक मञ्च पूर्व संयोजक र बानियाँ राष्ट्रिय संयुक्त धार्मिक मञ्च झापाका अध्यक्ष थिए ।त्यसबेला दमक, गौरादह, खजुरगाछी, सुरुंगाको चर्चमा बम बिस्फोट भएको थियो ।

बानियाँ गत २०७९ को संघीय निर्वाचनमा झापा क्षेत्र नं ५ बाट स्वतन्त्र उम्मेद्वार बनेका थिए । ट्राफिक प्रहरी चुनाव चिन्ह लिएर उठेका बानियाँले ५७ मत पाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्