झापा,जेठ १२ । नेपालमा पछिल्लो केही वर्षयता डेंगु सङ्क्रमण जनस्वास्थ्य समस्याका रुपमा देखा पर्दै गइरहेको छ ।

सन् २०१९ देखि देशका विभिन्न स्थानमा डेंगु सङ्क्रमण महामारीका रुपमा देखा पर्दै आइरहेको छ ।
मनसुन सुरु भएसँगै नेपालमा किट जन्य रोगको जोखिम बढ्ने गर्छ । यो वर्ष पनि डेंगु सङ्क्रमण अन्य वर्षको तुलनामा बढी देखिने आँकलन गरिएको छ । सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनले यो वर्ष प्रिमनसुनमा नै धेरै पानी परेकाले अन्य वर्षको तुलनमा बढी डेंगु सङ्क्रमण पुष्टि हुने जानकारी दिए ।
अबको दुई हप्तामा डेंगु सङ्क्रमण बढ्ने उनको भनाइ छ । उनले भने, “यो वर्ष धेरै पानी पर्ने आँकलन गरिएकाले डेंगु सङ्क्रमण अन्य वर्षको तुलनामा बढी देखिन सक्छ । अबको दुई हप्ताबाट विस्तारै डेंगु सङ्क्रमण बढ्न सक्छ ।”
घाम लाग्ने पानी पर्ने मौसममा डेंगु गराउने लामखुट्टेले फुल पारेर बच्चा निकाल्ने अनुकूल वातावरण हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का किट रोग नियन्त्रणशाखाका प्रमुख डा. गोकर्ण दाहालले गत वर्षको तुलनामा हालसम्म निकै कम सङ्क्रमित पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार यो वर्ष डेंगु सङ्क्रमण बढ्छ कि भन्ने अनुमान गरेको भए पनि गत वर्षको तुलनामा डेंगु सङ्क्रमितको संख्या आधाभन्दा कम पुष्टि भएको छ । दाहाल भन्छन्, “तीन वर्षको तथ्याङ्क हेर्दा यो वर्ष अहिलेसम्म कम डेंगु सङ्क्रमण पुष्टि भएको छ । पानी पर्न थालेको १५ दिन भयो अहिलेसम्म डेंगु ’आउन ब्रेक’ भएको सुन्नमा आएको छैन ”उनले भने ।