कुमरखोद, जेठ १२ । झापा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ ।


पूर्ण खोप सुनिश्चितता निर्देशिका २०७९( संशोधन सहित ) वमोजिम सम्पूर्ण प्रकृया पुरा गरी झापा गाउँपालिकाभित्र रहेका १६ देखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकाहरुलाई १५ महिना पुरा भएपछि पूर्ण खोप पाएको सुनिश्चित गरी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो । गाउँपालिकाको ७ वटै वडाबाट सबै बालबालिकाले खोप लगाउने कार्य सम्पन्न भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख प्रेमप्रसाद न्यौपानेले बताए ।

शाखा प्रमुख न्यौपानेले आर्थिक वर्ष २०८१÷८२ मा झापा गाउँपालिकाको ७ वटै वडामा १५ महिना माथिका कुल ६ सय ३९ जना बालबालिकालाई १३ प्रकारका खोप ७ पल्टमा लगाएर खोप कार्य सम्पन्न गरिएको बताए ।

झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाको अध्यक्षता एवम् झापा जिल्ला खोप समन्वय समितिका संयोजक रहेका जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालको प्रमुख आतिथ्यतामा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले खोप कार्य निरन्तर चलिरहने र उमेर समूहका सवै बालबालिकाले अनिवार्य खोप लगाउन पाउनु पर्ने सरकारको लक्ष्य अनुसार जिल्लाका सवै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता घोषणा र प्रमाणीकरण गर्ने कार्य अगाडी बढिरहेको बताए । उनले कन्काई नगरपालिकापछि झापा गाउँपालिका पूर्ण खोपको दोस्रो पालिका भएको दिए ।

यसैगरी झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष थपलियाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताउँदै स्वास्थ्यकर्मी , महिला स्वयंसेविका र जनप्रतिनिधिहरुको अथक मेहनतले पालिकालाई पूर्ण खोप घोषणा गर्न सफल भएको जानकारी दिइन् । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया , स्वास्थ्य कार्यालय झापाका वरिष्ठ खोप अधिकृत राजकुमार पोख्रेल , वडा नं ७ का वडा अध्यक्ष सखिचन्द्र ठाकुरलगायतका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष राजकुमार यादव , वडा नं २ का अध्यक्ष हिमालकुमार चम्लागाई , वडा नं ३ का अध्यक्ष सुभाषलाल गणेश , वडा नं ५ का अध्यक्ष कृष्णप्रसाद राजवंशी , वडा नं ६ का अध्यक्ष नविनकिशोर थापा , स्वास्थ्यकर्मी र स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख न्यौपानेले गरेका थिए । कार्यक्रममा ७ वटै वडाका वडाध्यक्ष ,स्वास्थ्यकर्मी र स्वयंसेविकाहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्