झापा,जेठ १२ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानेलाई अभिमुखीकरण तालिमप्रदायक संस्थालाई मापदण्ड अनुसार तालिम सञ्चालन गर्न निर्देशन दिएको छ ।

तालिमप्रदायक संस्थाले तालिम सञ्चालन गर्दा न्यूनतम मापदण्ड पनि पूरा नगरेको जनगुनासो आउने क्रम बढेपछि विभागले तालिमप्रदायक संस्थालाई मापदण्ड अनुसार तालिम सञ्चालन गर्न निर्देशन दिएको हो ।
विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले अभिमुखीकरण तालिम सञ्चालन निर्देशिका अनुसार आवश्यक भौतिक एवं अन्य स्रोतसाधन भए÷नभएको विषयमा अनुगमन गरिने जानकारी दिए । साथै उनले आवश्यक भौतिक संरचना र स्रोतसाधन नभएका तालिमप्रदायक संस्थालाई कानुन अनुसार कारबाही गरिने जानकारी दिए ।
उनका अनुसार विभागको अनुगमन टोलीले तालिमप्रदायक संस्थाको आकस्मिक र नियमित दुवै किसिमको अनुगमन गरेर कुनै कैफियत भेटिएमा कानुन अनुसार संस्था खारेजी गर्नेसम्मको कारबाही गर्ने जनाएको छ । वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई प्रस्थान गर्नुपूर्व गन्तव्य देशको भौगोलिक स्थिति, हावापानी, धर्म, संस्कृति, भाषा, नियम कानुनसम्बन्धी जानकारीका साथै ती मुलुकमा श्रमिकले पालना गर्नुपर्ने र गर्न नहुने विषयसम्बन्धी जानकारी दिने उद्देश्यले वैदेशिक रोजगार अभिमुखीकरण तालिम दिइन्छ ।
श्रमिकका लागि व्यवसायजन्य सुरक्षा, स्वास्थ्य सचेतना, वैदेशिक रोजगार कानुन, ठगिनबाट बच्ने उपाय, श्रमिकले गर्नुपर्ने व्यवहार, आर्थिक कारोबार जस्ता विषयमा सैद्धान्तिक तथा व्यावहारिक शिक्षासमेत तालिमका क्रममा दिइन्छ । तालिम नलिएकै कारण विमान चढेदेखि काममा जाँदासम्म कामदारले अनेकौँ दुःख भोग्दै आउनु परेको छ ।
वैदेशिक रोजगारीका लागि १४३ वटा अभिमुखीकरण संस्थामध्ये केहीले श्रमिकको उपस्थितिबिना नै तालिम लिएको प्रमाणपत्र दिने गरेको आरोप संस्थालाई लाग्ने गरेको छ । पुरुष श्रमिकका लागि १० घण्टा र महिला श्रमिक लागि ११ घण्टाको अभिमुखीकरण तालिम अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था छ । महिला श्रमिकलाई तालिम लिएबापतको रकम प्रवर्धन बोर्डले प्रदान गर्ने गरी निःशुल्क तालिमको व्यवस्था मिलाइएको छ । गन्तव्य मुलुक अनुसार तालिमको प्रकृति फरक बनाउने, विद्युतीय अनुगमनको विकास गर्ने, विद्युतीय हाजिरी र दिनमा दुई पटक हाजिरीको व्यवस्था मिलाउन सकिए यस क्षेत्रका धेरै विकृति अन्त्य हुने सरोकारवाला बताउँछन् ।