झापा, जेठ १५ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजको प्रदर्शन तथा कार्यक्रमका लागि सत्तारूढ एमाले र राजावादी समूहलाई छुट्टाछुट्टै समय उपलब्ध गराएको छ ।

पहिले एमालेलाई कार्यक्रम गर्न र त्यसपछि राजावादीको प्रदर्शन आयोजना गर्न प्रशासनले समय छुट्याएको हो ।
एमालेलाई भृकुटीमण्डपमा साढे १० बजेदेखि कार्यक्रम सुरु गरेर सवा २ बजेसम्म सक्न प्रशासनले अनुरोध गरेको छ ।

त्यसपछि शान्ति वाटिका क्षेत्रमा प्रदर्शनका लागि राजावादीलाई समय दिइएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जानकारी दिए । ‘एमाले तथा राप्रपाका नेताहरूसँगको छलफलपछि समय छुट्याइएको हो,’ उनले भने ।

एमालेले बिहीबार गणतन्त्र दिवस मनाउने कार्यक्रम छ । राप्रपालगायत दल र राजावादी समूहले राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्रको मागसहित आजदेखि अनिश्चितकालीन प्रदर्शनको घोषणा गरेका छन् । राजावादीले गत चैत १५ मा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो । अर्कोतर्फ केही दिनअघि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार काठमाडौंलाई केही घण्टा नियन्त्रणमा राख्न पार्टीका कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । सोही कारण यस पटक सुरक्षा व्यवस्थामाथि चासो बढेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी सबै तरिकाले सुरक्षा व्यवस्था कडा बनाएको बताउँछन् ।
नवराज सुवेदीको नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन परिचालन समितिले आजदेखि प्रदर्शन घोषणा गरेको हो । प्रदर्शनका लागि राप्रपाले प्रशासन कार्यालयलाई पत्र नपठाए पनि १२ बजे शान्ति वाटिकामा भेला हुन समर्थकलाई अनुरोध गरेको छ । ‘आन्दोलनका लागि कोही कसैसँग समय लिनु पर्दैन,’ राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले भने, ‘काठमाडौंका विभिन्न ठाउँबाट ¥यालीसहित शान्ति वाटिकामा १२ बजे भेला भएर शान्तिपूर्ण ढंगबाट आन्दोलन हुनेछ ।’

राजावादी समूहले देशका विभिन्न स्थानमा स्वतःस्फूर्त रूपमा धर्ना, जुलुसलगायत जनप्रदर्शन निरन्तर चल्ने जनाएको छ । ‘हामीले वर्षा हुन सक्ने भनेर छाता र पानीको बोतलसहित सडकमा भेला हुन भनेका छौं,’ लावतीले भने, ‘भद्र अवज्ञा र सत्याग्रह आन्दोलनको स्वरूप हुनेछ ।’ यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एमालेले आफूहरूलाई अवरोध गरे प्रतिकारको चेतावनीसमेत दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्