भद्रपुर, जेठ १६ । विगत ६ वर्षयता निर्माण कार्य रोकिएर अलपत्र परेको सदरमुकाम चन्द्रगढीमा रहेको गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको लागि यस वर्ष पनि बजेट परेन ।

प्रधानमन्त्री केपी ओली ,नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष एवम् झापा ३ का संघीय सांसद राजेन्द्रप्रसाद लिङदेनलगायतले दिएको प्रतिबद्धता फेरि पनि पूरा हुन सकेन ।
सरकारले हिजो प्रस्तुत गरेको बजेटमा भने कोशी प्रदेशका अन्य योजनाहरूका लागि रकम विनियोजन भएको छ । तर, जीपी भवन त्यसभित्र परेन ।
बजेटमा झापाको भद्रपुरसहित अन्य विमानस्थलको स्तरोन्नतिका निम्ति ५० करोड रुपैयाँ विनियोजन भएको छ । यसैगरी मोरङको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालासहित अन्य रंगशालाका लागि ४२ करोड रुपैयाँ विनियोजन भएको छ । गिरिजाप्रसाद रंगशालामा हरेक वर्ष बजेट विनियोजन भए पनि निर्माण कार्य भने अुधरै छ ।
झापाको दमकमा सबै प्रकारका प्रतियोगिता आयोजना गर्न अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने घोषणा गरिएको छ । यसैगरी सुनसरी–मोरङ नहर तथा सिँचाइ प्रणाली मर्मत तथा संहार, पुनस्र्थापना तथा व्यवस्थापन सुधारका निम्ति पनि बजेट विनियोजन भएको छ ।
पूर्वपश्चिम राजमार्ग विस्तारअन्तर्गत काँकडभिट्टा–लौकही सडक चार लेन स्तरोन्नति गर्न बजेट विनियोजन भएको छ । विराटनगरको रानी–इटहरी चार लेन व्यापारिक मार्ग निर्माण सम्पन्न गर्न बजेट छुट्याइएको छ । कोशी कोरिडोरको खाँदबारी–दोभान खण्ड, अरुण कोरिडोरको चतरा–लेघुवा सडक ट्याक खोल्न बजेट विनिजन भएको अर्थमन्त्री विष्णु पौडेलले जनाएका छन् । झापाको बाहुनडाँगीदेखि डडेल्धुरा जोड्ने मदन भण्डारी मार्ग निर्माणका लागि दुई अर्ब ५१ करोड विनियोजन भएको छ । सुरुङ मार्गतर्फ धरान–लेउती निर्माणका लागि स्रोत व्यवस्थान गरिने जनाइएको छ ।
केही साताअघि भद्रपुरका नगर प्रमुख गणेश पोखरेल नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाउँदा प्रधानमन्त्री ओली , काँग्रेस सभापति देउवा, राप्रपा अध्यक्ष एवम् झापा ३ का संघीय सांसद लिङ्देनले भवन निर्माणमा रहेका समस्या हल गरेर निर्माण अवधि थप हुने वातावरण बनाउने प्रतिबद्धता जनाएका थिए ।
साविक जिल्ला विकास समितिबाट दुई वर्षमा निर्माण सम्पन्न हुने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएपनि ठेकेदारको पटक–पटक माग गरेको म्याद थप नभएपछि कानुनी समस्या उत्पन्न भएर निर्माण कार्य अलपत्र परेको हो ।