झापा,जेठ २१ । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले यस बर्ष औसतभन्दा बढी बर्षा हुने पूर्वानुमान गरेसंगै झापामा मनसुन विपद्का लागि ७५५ जना जनशक्ति तैनाथ राखिएको छ । त्यसबाहेक थप जनशक्ति परिचालन गर्नेगरी सुरक्षा निकाय र रेडक्रसबाट तयारी गरिएको छ ।

मनसुन विपद्का लागि सशस्त्र प्रहरीको ३२० जना , जनपद प्रहरीको ११० जना , नेपाली सेनाको १६० जना , रेडक्रसको १२५ जना र विपद् व्यवस्थापन गुल्मको ४० जनालाई स्टेन्डबाई राखिएको हो । चारआलीस्थित नेपाली सेनाको अरिदमन गणमा झापा जिल्लाको विपद् व्यवस्थापनसंग सम्बन्धित सुरक्षा निकाय , स्थानीय तह र विभिन्न संघ संस्थाबीचको छलफलमा ती निकायले आ–आफ्ना तयारीबारे जानकारी दिएका हुन् ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाका सशस्त्र प्रहरी नायव उपरीक्षक मदनकुमार रसाइलीले गणमा ३५ जना र मातहत गुल्म र विओपी तथा सुरक्षा वेशहरुमा उद्धार सामग्रीसहित विपद् प्रतिक्रिया टोली स्टेन्डबाई रहेको जानकारी दिए । उनले सशस्त्र प्रहरी कर्मचारीहरुलाई बिपद् ब्यवस्थापन अनुशिक्षण तालिम संचालन तथा अभ्यास गराइएको बताउँदै जिल्लाका १३१ वडाहरुमा २५ जना गरी जम्मा ३२७५ जना विपद् सूचक तयार गर्ने लक्ष्यअनुरुप हालसम्म १७१ जना तयार भएको जानकारी दिए । चालू आर्थिक वर्षमा १९३ वटा बिपद् सम्बन्धी सचेतनामुलक कक्षा संचालन गरिएकोसमेत उनले जानकारी दिए ।
त्यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेश कार्कीले जम्मा जिल्लामा १ हजार १८४ जना प्रहरी कार्यरत रहेकोमा त्यसमध्ये ११० जनालाई मनसुन विपद्का लागि तयारी राखिएको जानकारी दिए । प्रहरीसंग भएका स्रोत साधनलाई तयारी हालतमा राखिएको उनको भनाई छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाका हरिशरण खड्का , विपद व्यवस्थापन गुल्मका प्रहरी निरीक्षक विन्देश्वर यादवले पनि आफ्ना कार्यालयका तर्फबाट भए–गरेका तयारीका बारेमा जानकारी दिएका थिए ।
त्यस्तै विभिन्न स्थानीय तह र संघ संस्थाहरुले विपद्को तयारीबारे जानकारी दिएका थिए ।बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले विपद्का लागि सयभन्दा बढी स्काउटर तयारी अबस्थामा राखिएको जानकारी दिए । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बिर्तामोडमा बाढी र डुबान आएको खण्डमा पीडितहरुका लागि अतिथि सदनलाई आश्रयस्थलको रुपमा प्रयोग गर्न दिएर सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा जिल्ला बिपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जिल्लामा भएका विपद्का सबै क्लस्टरलाई आ–आफ्नो तयारी गरि विपद् परेको खण्डमा तुरुन्त परिचालन भई धनजनको क्षति न्यूनीकरण गर्न निर्देशन दिएका थिए ।
“अभ्यास मनसुन–५” अन्तर्गत संचालन भएको उक्त कार्यक्रममा आज बिहान ११ बजे मेचीनगर नगरपालिका वडा नं. १३ र १४ मा अवस्थित निचाझोडा सिमसार क्षेत्रमा विपद्सम्बन्धी बृहत एकीकृत डेमोस्ट्रेशन रहेको अरिदमन गणका प्रमुख सेनानी प्राजु बस्न्यातले जानकारी दिएका छन् । यस वर्षको मनसुनमा झापाका ८ हजार ९१९ घरधुरी प्रभावित हुने प्रक्षेपण गरिएको छ ।