झापा,जेठ २१ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नगरे पनि छानबिन आयोग गठन गर्नुपर्ने विपक्षीको मागलाई सत्तापक्षले कुनै हालतमा स्विकार्न नसकिने जनाएको छ ।


साथै अपरिपक्व माग अघि सारेर विपक्षीले संसद्लाई बन्धक बनाउन नहुने सत्तापक्षको भनाइ छ । विपक्षीले भने आफ्ना माग पुरा नभएसम्म सदनको नियमित काम कारबाही अघि बढ्न नसक्ने चेतावनी दिँदै आएका छन् ।
सोही चेतावनीका कारण मङ्गलबार र बुधबार दुवै दिनका बैठक सुचना टाँस गरेर स्थगित भएका छन् । बैठक स्थगित भएपछि बजेटमाथिको छलफल प्रभावित भएको छ ।
सहमति जुटाउन सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग बुधबार गरेको छलफलमा समेत दुवै पक्षले आआफ्ना अडान छाड्न मानेनन् । जसले गर्दा भिजिट भिसा प्रकरण थप पेचिलो बनेको छ भने प्रतिनिधि सभा बन्धक जस्तै बन्न पुगेको छ ।
सत्ता र विपक्षी दुवैले अडान नछाडेपछि बुधबार १ बजेका लागि तय भएको बैठक सवा ३ बजेलाई सारिएको थियो । सारिएको समयमा समेत बैठक बस्न नसकेपछि बिहीबार १ बजे बस्ने गरी स्थगित गरिएको छ ।
सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा विपक्षीले उठाएका मागको जवाफ गृहमन्त्री रमेश लेखकले संसदबाटै दिने भने पनि विपक्षीले त्यो अवसर नै नदिएको बताए ।

प्रमुख सचेतक बर्तौलाले गृहमन्त्रीले राजीनामा नगर्ने र उच्चस्तरीय छानबिन आयोग पनि नबन्ने प्रस्ट पारे । ‘गृहमन्त्रीले सांसदबाट जवाफ दिन्छु भनेर पटक पटक भनिराख्नुभएको छ । त्यो अवसर विपक्षीले दिइरहेको छैन, पहिले उहाँको कुरा सुन्नुपर्छ’, बर्तौलाले भने, ‘गृहमन्त्रीको राजीनामा पनि हुने कुरा छैन । उहाँहरूले भनेजस्तो कुनै समिति पनि बन्दैन ।’

सत्तापक्षले विपक्षीले अपरिपक्व तरिकाले माग राखेको र विषय उठाएको पनि बताएको छ । ‘उहाँहरूले अपरिपक्व तरिकाले माग राख्नुभयो । विषय उठाउनु भएको यो विषयलाई पुनर्विचार गर्नुपर्छ, पछि हट्नुपर्छ र संसद्को गतिरोध खुलाउने कुरामा भूमिका खेल्नुपर्छ यो कुरा प्रस्ट छ’, बर्तौलाको भनाइ छ ।

गृहमन्त्रीले संसद्मा बोलेपछि धेरै कुरा प्रस्ट हुने सत्तापक्षको भनाइ छ । भिजिट भिसा प्रकरणमा मुछिएका सहसचिव तीर्थराज भट्टराईमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको अवस्थामा फेरि अर्को आयोग जरुरी नभएको सत्तापक्षको जिकिर छ ।

‘प्रतिपक्ष रचनात्मक हुन सकेन, सिर्जनात्मक हुन सकेन । उहाँहरूको निगाहाबाट हाउस चल्ने ? विपक्षीले संसद्लाई बन्धक बनाइरहेको छ’, प्रमुख सचेतक बर्तौलाले भने, ‘ यो परिस्थिति अन्त्य गर्नुपर्छ । फेरि पनि हामी भन्छौ–उहाँहरूले समय माग्नुभएको छ । आज हामीले सुचना टाँस गरेर नै स्थगित ग¥यौ हामी सहयोगी भूमिकामा छौ ।’

सत्तारुढ अर्को दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले पनि विपक्षीले गृहमन्त्रीलाई संसद्मै बोल्न नदिने गलत नजिर स्थापित गर्न खोजेको बताए । ‘गृहमन्त्रीले संसद्मा जवाफ दिन खोज्दा बोल्न दिनुपर्छ । बोल्नै नदिने हो भने गलत नजिर बस्छ हामी त्यसको पक्षमा छैनौ’, घिमिरेको भनाइ छ ।

प्रतिनिधि सभा बैठक प्रभावित बनेपछि बुधबार नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संसद्को गतिरोध अन्त्यका लागि विपक्षी दलका केही नेता र सांसदहरूसँग छुट्टै संवाद गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्