झापा, जेठ २१ । पहिलो पटक झापामा आयोजना गर्न लागिएको गायत्री जयन्तीको तयारी पूरा भएको छ ।

पूर्वमै पहिलो पटक बिर्तामोडमा अढाई करोड रुपैयाँको लागतमा निर्माण भएको गायत्री माताको मन्दिरमा भोलि गायत्री जयन्ती आयोजना गर्न लागिएको हो ।
गायत्री माता मन्दिर सेवा समितिले गायत्री जयन्ती मनाउन लागेको हो । जयन्तीमा विशेष प्रकारको कार्यक्रम आयोजना गर्दै सन्ध्या आरती गर्ने कार्यक्रम रहेको छ । गायत्री माताको मन्दिर निर्माणमा अगुवाई गर्ने बिर्तामोडका युवा व्यवसायी रोनक वंशलका अनुसार भोलि विहान ९ बजे मन्दिर परिसरबाट निशान यात्रा निकालिने छ । निशान यात्राले बिर्तामोड परिक्रमा गर्दै पुनः मन्दिर परिसर पुग्ने कार्यक्रम छ । त्यसपश्चात् मन्दिरमा माताको विशेष पूजा आरधना गरिने र साँझ ७ बजेबाट सन्ध्याकालीन भजन कीर्तनको आयोजना गर्दै महाप्रसाद बितरण गरिने उनले जानकारी दिए ।

माताको भजन कीर्तनका लागि स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ख्यातिप्राप्त भजन गायकको उपस्थिति रहने जनाइएको छ । झापामा नै पहिलो पटक माता गायत्री देवीको मन्दिर निर्माणसंगै गायत्री जयन्त्री मनाउने कार्यक्रम रहेकाले आम श्रद्धालु भक्तजनलाई माताको जयन्तीमा सहभागी बन्दै पुण्य आर्जन गर्न सेवा समितिले आग्रह गरेको छ ।
बिर्तामोडका युवा व्यवसायी वंशलको अगुवाइमा बिर्तामोड ५ स्थित अग्रसेन भवनको समिपमा माता गायत्रीको दिब्य मन्दिर निर्माण भएको छ । २०८० साल जेठ १७ गतेबाट मन्दिर निर्माण प्रारम्भ भएर २०८१ साल माघ २१ गते विधिपूर्वक माताको प्राण प्रतिष्ठा गर्दै मन्दिर सञ्चालनमा आएसंगै यो वर्ष गायत्री जयन्ती मन्दिर परिसरमा मनाउन लागिएको गायत्री माता मन्दिर सेवा समितिका अध्यक्ष विवेक अग्रवालले जानकारी दिए ।

गायत्री माताको मन्दिर निर्माण गर्दै सञ्चालनमा ल्याएसंगै झापावासीले माताको स्मरणमा मन्दिरमा बसेर पूजाआजा गर्दै मन्त्रोच्चारण गर्न पाउने भएका हुन् ।
बुद्धि , ज्ञान र दिब्य शक्तिको प्रतिनिधित्व गर्ने देवी गायत्रीको अवतारलाई पवित्र हिन्दू पर्वका रुपमा गायत्री जयन्ती मनाइने गरिन्छ । यो वर्ष गायत्री जयन्ती भोलि जेठ २२ गते परेको छ । परम्परा अनुसार गायत्री जयन्तीलाई वेद व्यास जयन्तीको रुपमा पनि मनाइने गरिएको छ । वेदकी आमा र आध्यात्मिक प्रकाशको सर्बाेच्च स्रोत मानिने गायत्री मातालाई गहिरो सम्मान गरिन्छ । हिन्दू धर्ममा एक पबित्र र शक्तिशाली देवीको रुपमा माता गायत्रीलाई लिने गरिन्छ ।