झापा, जेठ २५ । बिर्तामोडमा शहरीकरणसंगै अतिक्रमणमा परेको सतानु पैनीको अस्तित्व खोजी हुन थालेको छ ।

व्यक्तिगत संरचना नबनाइएका ठाउँमा सरसफाई गरी सतानु पैनीको अस्तित्व खोजी गर्न थालिएको बिर्तामोड ४ का वडा सदस्य उमेश राउतले बताए । उनले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गतका कामदारहरुलाई सतानु पैनी सरसफाई गर्न लगाइएको जानकारी दिए ।
वर्षौ अघिदेखिको सतानु पैनीलाई मासिएको हो । हालको बिर्तामोड नगरपालिका वडा नं ५ , ४ र ३ भएर बग्ने सो पैनी वडा नं ९ सम्म पुगेर टुंगिएको थियो । बिर्तामोडको मुक्ति चौक उत्तरदेखि बिर्तामोड ९ को नरियाबारीसम्म पैनीको साविक वहाव रहेको थियो । तर, अहिले त्यस सतानु पैनीको नामोनिशान छैन । पुरानो लाली गुराँस होटलदेखि उत्तरबाट शुरु भएको पैनी ट्राफिक प्रहरी कार्यालय , प्रसाई सुपर मार्केट, हिकोला होटल हुँदै पूर्व—पश्चिम राजमार्ग क्रस गरी दक्षिणतर्फ बग्ने गरेको थियो । राजमार्ग दक्षिणमा संगम स्वीट्स, कुमारी बैंकको पूर्वपट्टि पुरानो भद्रपुर रोडको छेउबाट बग्दै दक्षिण झर्ने गरेको थियो । पुरानो भद्रपुर रोड पूर्वपट्टिबाट बग्दैे भुपेन्द्रसिंह राजवंशीको जग्गाको सिमानासम्म कायम रहेको पैनी बिर्ताबजारदेखि पूर्व आनन्दगञ्ज जाने बाटोदेखि दक्षिण विराटज्योति बोर्डिङको बाटो हुँदै शुभलक्ष्मी टोलतर्फ बग्ने गरेको थियो ।त्यस टोलभन्दा अझ दक्षिण बिर्तामोड ३ को मुसहरबस्ती पूर्व हुँदै नरियाबारीसम्म पैनी रहेको थियो ।
२०२१ सालको नक्सालाई हेर्दा साविक अनारमनीको २,३ र ७ नं वडामा सो पैनी कायम रहेको देखिन्छ । सर्पट नापीको नयाँ नक्सामा पनि पैनी कायम छ । हालको नयाँ नक्सालाई हेर्दा सिट नं १७९—१६० मा पैनीलाई कायम राखिएको हो । तर , शिरदेखि पुछारसम्मको पुरै पैनी नक्सामा कायम छैन । कतिपय ब्यक्तिले यसलाई आफ्नो नाममा नम्बरी बनाइसकेका छन् । पैनीको थोरै भूभाग मात्र अस्तित्वमा छ । अधिकांश भाग अतिक्रमण भइसकेको छ । पैनीको सार्वजनिक जग्गा मासेर त्यसमा ठूलठूला घरहरु निर्माण गरिएका छन् । त्यस्तै कतिपय ठाउँमा पैनी मिचेर प्लटिङका लागि बाटो निर्माण गरिएको छ । विराटज्योति बोर्डिङ जाने बाटो पैनी मिचेरै बनाइएको हो भने शुभलक्ष्मी टोलको प्लटिङको बाटो पैनीकै जग्गामा निर्माण गरिएको छ । करिव साढे तीन किलोमिटर लम्बाई र ३०देखि ४० फुट चौडाई रहेको सतानु पैनी सबै मासिसकेको छ ।
सर्पट नापीले धेरै ठाउँमा पैनीलाई नम्बरी बनाइदिएको हो । नापी टोली आउनुअघि नक्सामा कायम रहेको पैनीलाई सर्पटले हालसाविक गरी नम्बरी बनाइदिएको बिर्तामोड नगरपालिका वडा नं ५ का पूर्व वडाध्यक्ष राजेन्दप्रसाद्र लिङ्देन बताउँछन् । कतिपयले पैनीमाथि बनाएको आफ्नो घरको नक्सा पास गरिसकेको उनले बताए ।
हालको बिर्तामोड ५ मा पैनीको जग्गा अतिक्रमण गरी सबैभन्दा बढी निजी संरचना निर्माण गरिएका छन् । वडा नं ४ र ३ मा पनि घर र बाटो बनाएर पैनी मासिएको छ । बिर्तामोड ४ मा पनि केही संरचना निर्माण गरिएको वडा सदस्य राउतले बताए । उनले ती संरचना हटाउने पहल भइरहेको जानकारी दिए । पानीको निकासको समस्या भएर डुबान भएपछि बिर्तामोडबासीहरुले सतानु पैनी खोल्न माग गर्दै आएका छन् ।