झापा, जेठ ३० । विपदमा खटिनका लागि झापा कचनकवलका १४ जना स्वयंसेवकलाई सशस्त्र प्रहरीले तालिम दिन थालेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हे.क्वा. झापाले आजदेखि १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम संचालन गरेको हो । १४४ पिरियडको तालिममा विपद् सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिइने छ ।

तालिममा प्रशिक्षार्थीहरुलाई विपद्को परिचय, नेपालमा घट्न सक्ने सम्भावित विपद्हरु, विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, विपद्को समयमा अन्य सरोकारवाला निकायहरुसंग गरिने समन्वय, भत्केका संरचनाहरुमा गरिने खोज तथा उद्धार, जल उत्पन्न प्रकोप र त्यसमा गरिने उद्धार, डोरीद्धारा गरिने उद्धार, अग्नि नियन्त्रण, प्राथमिक उपचार तथा सडक दुर्घटना जोखिम न्यूनीकरण लगायत विविध विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिने गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले जानकारी दिए ।

उनले विपद् स्वयंसेवक आधारभूत तालिम पाठ्यक्रम २०८१ र विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम पाठ्यक्रम २०८१ बमोजिम खोज तथा उद्धारमा खटिने स्वयंसेवकको क्षमता विकास गर्नुका साथै विपद् स्वयंसेवकहरुलाई स्तरीय आधारभूत तालिम प्रदान गरिने बताए । कचनकवल गाउँपालिकाको सहकार्यमा संचालित तालिममा गाउँपालिकाका सातै वडाको प्रतिनिधित्व हुने गरी १४ जना प्रशिक्षार्थी सहभागी छन् ।

कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी र प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष गोपालकुमार अधिकारीले संयुक्तरूपमा तालिम उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा गणपति सशस्त्र प्रहरी उपरीक्षक भण्डारीले स्वागत मन्तव्यसहित तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले यस क्षेत्रमा विभिन्न प्रकारका प्राकृतिक तथा मानव सृृजित विपद्को जोखिम उच्च रहेकोले त्यस्ता चुनौतीहरूलाई सामना गर्न समुदाय स्तरमै दक्ष जनशक्ति उत्पादन गर्नु एक महत्वपूर्ण उपलब्धी हुने बताए । उनले यस्ता तालिम झापाका अन्य पालिकाहरूमा समेत गराउन आवश्यक रहेको जोड दिँदै तालिम सफलताको शुभकामना दिएका थिए ।

कचनकवल गाउँपालिकाका अध्यक्ष राजवंशीले यस प्रकृतिको तालिम आफ्नो पालिकामा संचालन गर्न पाउँदा अत्यन्त हर्षित भएको बताए । यस तालिमबाट प्रशिक्षार्थीहरूलाई प्राप्त हुने सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले भोलीका दिनहरूमा हुनसक्ने विपद् प्रकोप उद्धारमा महत्वपूर्ण सहयोग प्रदान गर्ने बिश्वास ब्यक्त गरे । सो तालिम असार १९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्