(व्यङ्ग लेख)


आरुबोटे काका आत्तिदै मेरो घर आउनुभो । स्वाँ स्वाँ गर्दै निक्कै हतारिंदै कपाल कन्याउँदै भन्नुभो– लौ अन्तरे मेरो एउटा निवेदन लेखिदेऊ । पाटीमा चढाउनु परो । अब यो पाटीहरुमा झोला नबोकी यो मुलुकमा केहि काम कुरा नबन्ने पक्का ठहर गरें । तिमीले निवेदन–पत्र लेखिदेउला भन्ने आशा लिएर आएको छु ।आफू त पढ्ने बेलामा गोठाला÷खेताला गर्दै समय बित्यो । काला अक्षर भैसी बराबर भो । अहिले आएर एसो लख काटियो स्वतन्त्र बसेर काम रैनछ । कुनै न कुनै पाटीको झोले हुनै पर्ने रहेछ । तव मात्रै यताउती गर्न पाइने रहेछ । राजनीतिले त गालिसकेछ नि अन्तरे…। त्यसैले मलाई नि झोले हुने औडाहा जाग्यो । काकाले लामो सुस्केरा हाले…।

बुढेसकालमा पाटीमा कुदेर के गर्न खोज्नु भएको भन्दै, काकालाई अलि झपारे पनि । झोले बन्न पनि कहिँ निवेदन चढाउनु पर्छ र काका ? तपाईलाई मन परेको पाटीको एसो कुरा सुन्ने कार्यक्रमहरुमा सहभागी हुने चुनाव आएपछि मन परेको पाटीको चुनाव चिन्हमा भोटहाले भैहाल्यो नि । किन झोले नै बन्नु पर्यो त….? काकाले जिद्दि गरिनै रहनु भयो । उहाँको जिद्दिका अगाडि मेरो केहि चलेन…। काका कुन पाटीलाई यो निवेदन लेख्ने हो त… ? काकाले भन्दै जानुभो सप्पै पाटीलाई लेख्ने… । लास्टमा कुन मनपर्छ कुन चै ले बोलाउँछ, तेसैको झोले बन्ने हो । काका लगभग प्रष्ट हुनुहुन्थ्यो । उहाँले जे जे भन्नुभयो मैले लेख्दै गएँ…..।

बिषय– झोले कार्यकर्ता हुन पाउँ ।
श्रीमान सभापति÷अध्यक्ष, (बा, दाजु, भाउजु) ज्यू
पाटीहरु क्रमशः– एमाले, माओवादी, जसपा, मजदुर किसान, विप्लव, मालेमा, नेपाली काँग्रेस÷ प्रजातान्त्रिक काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पाटी, प्रजातन्त्रवादी, राजावादी, हिन्दुवादी, अतिवादी, मधेशी मोर्चा, तमलोपा÷लोसपा÷सद्भावना राष्ट्रिय स्वतन्त्र पाटी, अन्य सबै साना राजनीतिक दलहरु क्रमशः– चिन, रुस, कोरिया, पेरु, कम्बोडिया, लखनउ, पटना, नक्सलवाद, युरोपियन युनियन आदि देशहरुको कार्यक्षेत्र– नेपाल देश ।

महाशय,
हिजो आज राजनीतिमा लाग्नेले झोले हुनै पर्ने रैछ भन्ने सुन्या हुँ…। झोले भैयो भने धेरैतिरबाट फैदै–फैदा पनि हुन्छ अरे । जे भएनि तपाईको पाटीमा झोले कार्यकर्ता बन्नु परो सभापति÷अध्यक्ष, (बा, दाजु, भाउजु) ज्यू । मैले राजनीतिका धेरै उतार चढाव झेलेको÷भोगेको छु । त्यसैले झोले बन्ने मेरो योग्यता पुग्छ भन्ने मलाई लाग्छ । म राजनीति बुझेकै मान्छेमा पर्छु । अहिले मेरो उमेर पचहत्तर बर्ष पुगेको युवा कार्यकर्ता हुँ ।

बा, दाजु, भाउजु. मैले बि.सं. २०३६ साल. २०४६ साल ०६२÷०६३ सालहरुमा भएका आन्दोलनको अनुभव सँगालेको छु । ती सप्पै आन्दोलनमा कुनै न कुनै भूमिकामा म पनि सहभागी भएकै हुँ । बिपीको समाजवादको सिद्धान्तका कुरा सुनिनँ कि..? माओको माओवादको कथा सुनिनँ कि..? मार्क्सवाद लेलिनवाद र मालेमावादको उसै जानकार हुँ । ती कुरा बुझाउन उ बेला, हाम्रा घर–घरमा गीत गाउँदै आएका जेबी टुहुरेहरु रामेश÷रायनहरुले सिकाएकै हुन् । गाउँ–गाउँबाट उठ, बस्ती बस्तीबाट उठ भन्दै हामीलाई जुरुक्क जुरुक्क पारेकै हुन् । पछि मधेश आन्दोलनमा मधेशको राजनीति र मधेशी नागरिकले भोगेका पीडादायी कथा व्यथा पनि सप्पै थाहा पाइयो। चारुमजुमदारको सिद्धान्तले २०२८ सालमा झापामा नेता÷सामन्तको टाउको कट्टा आन्दोलन पनि देखेकै हो । अहिले नेपालको पछिल्लो अवस्थामा झोले राजनीति फस्टाएकोले तेसमा आफू किन नहोमिने त ? मेरो अभिलासा तेति नै हो । आफैले ती घटनाहरु भोगियो सप्पै थाहा पनि छ अनि किन पर बस्ने ? तेसैले झोले हुन पाउँ ।

बा, दाजु, भाउजु, म धरोधर्म भन्छु ….मैले पनि आन्दोलनका बेलामा काठमाण्डौ रत्नपार्कका सडकका रेलिङ्ग भाँच्न सघाएकै हो । आन्दोलनकै निहुँमा सिंहदरवारमा ढुङ्गा हानेको अनुभव पनि छ । सडकजाम , चक्काजाम त सामान्य कुरा भैहाल्यो । सवारी साधनमा तोडफोड गर्ने आगो लगाएको सप्पै अनुभव छ । कालोपट्टी बाँधेर धर्ना बस्ने काम पनि गरेकै हो । उ बेला, केटाहरु उक्साएर पुलिस कुट्नेदेखि सबै काम फत्ते गरियो । तर झोले हुन जानिएन हजुर…। अब झोले हुन पाउँ ।
महाभारतमा कर्णले भन्नुभएको छ कि तपाई जतिसुकै बलवान भएतापनि गलत मान्छेको साथ हुनुहुन्छ भने तपाईको बिद्या, अस्त्र, शस्त्र, शक्ति र वरदान सबै निश्फल भएर जान्छ । त्यसैले हजुरहरुको संगत मलाई एकदमै जरुरत छ । म भनेको एउटा निश्कलंक र चरित्रवान कार्यकर्ता भएकोले झोले हुने योग्यता पुगेको जानकारी गराउन चाहन्छु ।

महाशय, नेपाल देशको यो गाउँमा म लगभग अब एक्लै भएँ ।गाउँ लगभग खाली भयो । खेतबारीहरु बञ्जरमा परिणत भए । बाँदर÷मृग÷भालु÷बँदेलहरु हाम्रो घरको कराँसोमा आएर बास बस्छन् । हाटबजार लाग्दा मानिसको चहलपहल घटेको छ । विद्यालयमा विद्यार्थीको संख्या घटेको छ ।मेलापात गर्ने छरछिमेकी लगभग शून्य बराबर भएको छ ।मोटरेवल सडक निर्माणका नाममा डोजर चलाउँदा पानीका मुहानहरु सुकेर सुख्खा भएको छ ।हाम्रो गाउँमा नानीहरु रोएको नसुनेको निक्कै भयो बरु स्याल र फ्याउँरोहरु दिउँसै कराउँछन् । कतिबेला आफैलाई निमोठेर आहार बनाउने हो कि भन्ने चिन्ताले मनमा ढुक–ढुक हान्छ । कहिलेकाँही अरु–अरु पाटीका झोले कार्यकर्ता यताउता फुइ लगाउँदै उता खोल्सीतिरको बाटो हिड्छन् । तिनको फुइ देखेर मलाई नि झोले हुने औडाहा जागिसक्यो । सभापति÷अध्यक्ष ज्यू अहिलेको गाउँको यथार्थ अवस्थाको बारेमा दुईलाइन कविता सुनिदिनु होला…..

“बस्दैनन् घरमा युवा र युवती सारा विदेशी भए
पेशा छैन न मिल्छ जागिर यहाँ यै वाध्यताले गए
हाम्रा गाउँहरु ती सबै बदलिइ भै आज बृद्धाश्रम
जन्ती छैन बिहे हुँदा घरमा मर्दा मलामी न त ।”

अब भन्नुस् त…? मेरा आफ्नै छोरा छोरी खाडी र पश्चिमा मुलुकतिर विदेशिए । आफू खेतबारी खन्न पनि सक्दिनँ । दुईचार माउ बाख्रा पालेर जिविका गरेको थिएँ । अब ती पनि बिक्री हुन छाडे । बरु झोले भएर शहर बस्ने रहर जो जाग्यो । बरु उतै हजुरहरुको शहरमा आएर पाटीको र हजुरहरुकै सेवा गर्छु । जो मर्जी हजुर ।

म आउँदा चाकरी के कसरी गर्ने हो सो कुरा पुरापुर जान्ने भएर आउँछु । चम्चा चलाउन जान्ने भएर कोशेलीसहित आउँछु । खोलाको गिट्टी बालुवाको ठेक्कापट्टा हाम्रो पाटीको कुन झोलेलाई दिँदा फैदा हुन्छ भन्ने कुराको विवरण लिएर आउँछु । गाउँको वन उपभोक्ता समिति, सहकारी संस्थाको नेतृत्व, निर्माण उपभोक्ता समिति, खानेपानी समिति, टोल विकास संस्था, शिवालय मन्दिर, भजन समूह, आमा समूह, मेडिकल व्यवसायी एशोसिएसन, वार एशोसिएसन, खुद्रा व्यापारी संस्था, थोक बिक्रेता संघ÷संस्था, सामाग्री ओसार–पसार संस्था, सरकारी कार्यालय, आदिमा हाम्रो कुन झोले कार्यकर्तालाई जिम्मा दियो भने कुरो मिल्छ ? भन्ने विवरण बोकेरै आउँछु । विद्यालय र कलेजका युनियनहरुमा, शिक्षक संघ÷संगठन÷ मञ्च÷मोर्चा आदि जिम्मा पाउने झोलेको विवरण लिएर आउँछु ।

म हजुरको पाटीको झोले कार्यकर्ता भएपछि म माथिका पाटीका सबै पदाधिकारी र आफूभन्दा माथिल्लो तह र पदका सबैको भलो चिताइ कामकाज अगाडि बढाउने छु । त्यसपछि आफू आवद्ध पाटीका तल–माथि दुबैतिरका साथीहरुले खाएको राम्रो, हेरेको राम्रो, लाएको राम्रो, बोलेको राम्रो, हिडेको राम्रो, मातेको राम्रो, छादेको राम्रो, चोरेको राम्रो, सोरेको राम्रो, फोरेको राम्रो, सिङ्ग्रिएको राम्रो, बिग्रिएको राम्रो सबै कुरा राम्रै राम्रो देख्नेछु । आफूभन्दा सिनियर नेता कार्यकर्ता आफ्नो गाउँठाउँमा आउँदा सबैभन्दा पहिले खादामाला लिएर स्वागत गर्न पुग्नेछु ।ती नेता कार्यकर्ताले जे जे भने पनि मलाई राम्रो स्वाद लागिहाल्छ तब म हस् हस् हजुर भनेर पाटीका निर्णय बिनाशर्त शतप्रतिशत मानेर कार्यान्वयन गर्नेछु । किन कसरी हुन्न हुँदैन भन्ने खालको मबाट प्रतिप्रश्न वा सवाल जवाफको कुनै गुन्जाइस रहने छैन भन्ने प्रतिबद्धता यसै निवेदनमार्फत जाहेर समेत गर्दछु ।

अन्य प्रतिपक्षी राजनीति दल र तिनका नेताले जतिसुकै राम्रो विचार वा निर्णय गरे पनि नराम्रो मात्रै देख्ने बुझ्ने छु । तिनका हरेक बोली बचनलाई नराम्रो भनी दुत्कार्ने चेत ममा खुल्ने छ । त्यसपछि विपक्षी साथीहरु त्यसै नराम्रो उसै नराम्रो हुनेछन् । उनीहरुका घर–परिवार छोरा–छोरीहरु सबै नराम्रा मात्रै देख्नेछु । विपक्षीको व्यवहार नराम्रो देख्न मेरा आँखाहरु अनायासै तयार हुनेछन् । बोलेको बोली पनि नराम्रो, फटाहा जस्तो मात्रै देखिन ममा चेत पलाउने छ । तब म हजुरको असली झोले कार्यकर्तामा दरिनेछु । हजुरको विश्वास जित्न सकेँ भने बल्ल मलाई च्याप्नु हुनेछ ।सभापति÷अध्यक्ष, (बा, दाजु, भाउजु) मेरो राजनीतिक अनुभव समेतलाई विचार गरी मलाई बिश्वास छ तपाईको पाटीले अवश्य स्थान दिनेछ ।
अन्त्यमा, मैले काकाको मुखतिर पुलुक्क हेर्दै भने– काका यो निवेदन अब कहाँ कसलाई दिनुहुन्छ ,,,? राजनीतिक दलले आफ्नो ग्रिपमा राखेर विवेक शून्य बनाएर अब तपाईंलाई नि दास बनाउने भयो हैन,,,?

काकाले लामो श्वास तान्नु भयो, माथि डाँडाको चारैतिर आँखा घुमाउनु भयो र भन्नु भयो– मुलुक नै यहि लयमा दौडेको छ त, म एक्लो स्वतन्त्र नागरिक बनेर समाजबाटै अलग हुन कसरी र कहिलेसम्म बस्न सक्छु र बाबू,,,? यो निवेदन चै पाटीका बा, दाजु, भाउजुलाई आफै भेटेरै दिन्छु । यति बिश्वास दिलाएपछि त एउटा न एउटा पाटीले कसो झोले नबनाउलान् त अन्तरे…? अब निवेदन बिट मार्देउ । झोले बन्ने निवेदन हातमा हल्लाउँदै काका मेरो आँखाबाट टाढा भए ।
निवेदक– आरुबोटे कान्छो पिपलटार गैरीगाउँ, नेपाल । धन्यबाद ।
–हाल भद्रपुर–१० झापा

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्