झापा,जेठ ३१ । हलेसी तुवाचुङ नगरपालिकाले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई कोदोको बिस्कुट उत्पादन, ‘ब्राण्डिङ’ र ‘प्याकेजिङ’सम्बन्धी तालिम दिएको छ ।

नगरपालिकाको रैथाने बाली कोदोखेतीलाई प्रवद्र्धन गर्दै स्थानीय युवा पुस्तालाई आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई सहभागी गराएर नगरपालिकाले तालिम दिएको हो ।
‘कोदोको परिकार, स्वास्थ्यको सुरक्षा र आम्दानीको आधार’ भन्ने नारासहित वडा नं ७ महादेवस्थानस्थित वडा कार्यालयमा आयोजना गरिएको सात दिने तालिम औपचारिकरुपमा समापन गरिएको छ । एकजना स्थानीय महिला उद्यमी तथा १२ जना विद्यार्थीको सहभागिता रहेको तालिममा सहभागी प्रशिक्षार्थीले उत्पादन गरेका कोदोको बिस्कुट, कुकिज, निम्की, पाउरोटी, मफिन र दुनोट प्याकेजिङ गरेर समापन कार्यक्रममा प्रदर्शन गरिएको थियो । तालिममा सहभागीले बनाएका कोदोका परिकार त्रिधार्मिकस्थल हलेसी बजारमा सञ्चालन गरिएको कोसेली घरमा राखेर बिक्री गर्ने र हलेसी आउने पाहुनालाई उपहारस्वरुप प्रदान गर्ने योजनाका साथ तालिमको आयोजना गरिएको हलेसी तुवाचुङ नगरपालिकाका–७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए । “त्रिधार्मिकस्थल हलेसी आउने भक्तजन तथा दर्शनार्थीले कोसेलीको रुपमा लैजानका लागि यहाँको उत्पादन खोज्ने गरेका छन् । कोदोको परिकारलाई यहाँको प्रमुख उत्पादनका रुपमा ब्राण्डिङ गर्नेगरी तालिमको आयोजना गरिएको हो”, उनले भने, “तालिममा सहभागीले व्यावसायिक रुपमा उत्पादन गरेका कोदोका परिकार नगरपालिकाको तर्फबाट खरिद गरिदिन्छौँ । खरिद गरिएको परिकार कोसेली घरमा राखेर उपहारस्वरुप पाहुनाहरूलाई वितरण गर्ने योजना बनाएका छौँ ।”