झापा, जेठ ३१ । आज दिउँसो इलाममा परेको चट्याङले चौपाया मर्नुका साथै एकजना घाइते भएका छन् ।

दिउँसो २ बजे इलाम नगरपालिका वडा नं .८ सिङफिलिङ टोल बस्ने सुमन राईको गोठमा अचानक चट्याङ पर्दा गोठमा रहेको एउटा बाछी मरेको हो । सोही चट्याङको झड्काले सुमन राईकी श्रीमती ३० वर्षीया जानुका फागो लिम्बू घाइते भएकी छन् ।

दुबै खुट्टा नचल्ने भई उनलाई जिल्ला अस्पताल इलाममा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय इलाममा जानकारी गराउनसाथ प्रहरी निरीक्षक संजिव बोगटीको कमाण्डमा प्रहरी टोली खटिएर थप बुझ्ने कार्य भइरहेको जनाइएको छ ।

त्यस्तै आज दिउँसो १;३० बजे इलाम माईजोगमाई ५ सोयाङ बस्ने उमाकान्त चापागाईको घरमा जडान गरेको बिद्युतीय मिटर बक्स चट्याङले क्षतिग्रस्त भएको छ । बिद्युतीय मिटर बक्स पूर्णरुपमा र घरको छानोमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्