झापा, जेठ ३१ । भिजिट भिसा प्रकरणमा सत्तारुढ नेकपा एमालेसंग सुटुक्क सहमति गरेपछि व्यापक आलोचना खेपिरहेका पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको सफाई चित्तबुझ्दो छैन । माओवादीप्रति जनताको विश्वास ह्वात्तै बढेको देखेर चौतर्फी घेराबन्दी भइरहेको रेडिमेड जवाफ प्रचण्डले दिएका छन् ।

भिजिट भिसाका नाममा भएको भनिएको मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने भन्दै माओवादीलगायतका प्रतिपक्षी दलहरूले गत जेठ १३ गतेदेखि संघीय संसद्को बैठक अवरुद्ध गर्दै आएका थिए । उक्त अवरोध खुलाउन भन्दै माओवादीले शुक्रबार एमालेसँग दुई बुँदे सहमति गरेको हो ।
उक्त सहमतिमा अख्तियारले छानबिनका लागि माग गरेबमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्ने र अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने उल्लेख छ । सो सहमति देश र जनताको बृहत्तर हितको निम्ति भएको प्रचण्डको तर्क छ ।
तर, आम सर्वसाधारण र स्वयम् माओवादी समर्थकहरूले उधारो सहमति, लज्जास्पद सहमति वा गर्नै नहुने सहमति भन्दै सामाजिक सञ्जालमा व्यापक असन्तुष्टि जनाइरहेका छन् । सहमतिपछि शुक्रबारदेखि संसद् चलेको छ भने प्रतिपक्षी दलहरु रास्वपा र राप्रपाले भने गृहमन्त्रीको राजीनामा आउनुपर्ने र छानबिन समिति निर्माण हुनुपर्ने मागलाई यथावत् राखेका छन् ।
आज झापाको कमल गाउँपालिकामा आयोजित पाँच जातीय मोर्चाको संयुक्त राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संसद अधिवेशन खुलाउनुको चार कारण रहेको दावी गरेका छन् ।
उनले दुई बुँदे सहमति गरेर संसद अधिवेशन खुलाउनु पर्ने कारणहरुमा शिक्षा विधेयक, नागरिकतासम्बन्धी समस्या र शान्ति सम्झौतासँग सम्बन्धित केहि महत्वपूर्ण कुराहरुको टुंगो लगाउनु पर्ने रहेको बताए । सरकार बाहिर बस्न नसक्ने माओवादी पार्टीले सरकारमा जानकै लागि दुई बुँदै सहमति गरेको अड्कलवाजी गरिएकोमा उनले सरकार बनाउने कुरामा प्रवेश नै नगरेको दावी गरे ।
नेकपा माओवादी केन्द्रसम्बद्ध धिमाल राष्ट्रिय मुक्ति मोर्चा, कोचिला राष्ट्रिय मुक्ति मोर्चा, सन्थाल राष्ट्रिय मुक्ति मोर्चा , मेचे राष्ट्रिय मुक्ति मोर्चा र झाँगड मुक्ति मोर्चाका पाँच वटा जातीय मोर्चाहरुको संयुक्त राष्ट्रिय सम्मेलनको उद्घाटन सत्र कोचिला राष्ट्रिय मुक्ति मोर्चा नेपालकी अध्यक्ष ममता राजवंशीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, पूर्व सभामुख ओनसरी घर्ति मगर, केन्द्रीय उपमहासचिव हरिवोल गजुरेल, पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, केन्द्रीय सदस्य झलकसिंह दर्लामी, प्रदेश नं. १ संसदीय दलका नेता इन्द्र आङ्बो, नेकपा माओवादी प्रदेश अध्यक्ष हर्क नेम्वाङ, झापा जिल्ला अध्यक्ष रञ्जित तामाङलगायतको उपस्थिति रहेको थियो ।
आजै विराटनगर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरु कडा प्रश्न राखेपछि प्रचण्डले झर्को मानेका थिए । पत्रकारको सुरुकै प्रश्नबाट उनी चिढिएका थिए ।
पत्रकारको पहिलो प्रश्न थियो, ‘प्रचण्डको एउटा पहिचान छ रे, ढाँट्दिने भनेर । अब रास्वपालाई छोड्दिएर स्वाट्टै संसद् खोल्दिनुभयो । हिजोसम्म राजीनामा नभइकन हुँदै हुँदैन त भन्नुहुन्थ्यो । के कुरामा चाहिँ सेटिङ भयो ? ।’ यो प्रश्नमा प्रचण्डले अगाडि बढ्ने र पछि हट्ने खालका कदमहरु राजनीतिमा चालिने बताए ।
त्यहि बिचमा अर्को प्रश्न प्रचण्डलाई आइलाग्यो, ‘यो मुद्दा अग्नि सापकोटासँग साट्नुभएको हो ? ।’ त्यसपछि प्रचण्डले भने– ‘यो बिल्कुल गलत कुरा । वाहियात कुरा हो । मानिसहरूले प्रचार गर्ने गर्या छन् । त्यस्तो केही नि होइन । यो कुरा र अग्निको कुनै साइनो सम्बन्ध छैन ।’
फेरि प्रचण्डलाई अर्को प्रश्न आयो, ‘तपाईंलाई कांग्रेस एमालेले थाङ्नामा सुताएको कि आफैँ सुत्नुभएको हो ?’ जवाफ दिँदै प्रचण्डले भने, ‘तपाईंहरुको बुझाइ सुतेको हो ।’ प्रचण्डलाई अर्को प्रश्न पनि प्रहार भयो, ‘जनार्दन शर्मालाई तपाईंले किन पार्टी छोड भन्नुभएको ? ।’ जवाफमा प्रचण्डले भने, ‘भनेकै छैन, त्यो बेकारको कुरा हो ।’
प्रचण्डलाई प्रश्नको वर्षा हुँदाहुँदै अन्य नेता तथा कार्यकर्ताले अब सकियो भनेपछि प्रश्नोत्तर सकियो । तर, प्रचण्डलाई दुई बुँदे सहमतिको विषयलाई लिएर पत्रकारले मात्रै प्रश्न गरिरहेका छैनन् । स्वयम् माओवादीका नेता तथा कार्यकर्ताले पनि प्रश्न गरेका छन् ।