झापा, असार १ । मेची राजमार्गस्थित पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज खस्दा घाइते भएका तीन जना मजदुरको मृत्यु भएको छ।

प्रहरीका अनुसार हिजो साँझ बेलिब्रिज खस्दा घाइते भएका बाराको सिमरा उपमहानगरपालिकाका २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र सोही ठाउँका २२ वर्षीय प्रकाश चौधरीको मृत्यु भएको हो। पाँचथर जिल्ला अस्पतालबाट रेफर गरी नोबेल अस्पताल बिराटनगर पुर्याइएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।
रूपलाल चौधरीको राति १ः०५ बजे , राजन चौधरीको राति १ः१५ बजे र राकेश चौधरीको राति १ः२४बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
हिजो साँझ ६ बजे निर्माणाधीन बेलिब्रिज खसेको थियो । फिदिम नगरपालिका–४ तर्फ राखिएको बेसदेखि ठेल्दै पारिपट्टि हिलिहाङ गाउँपालिका–७ मा जग टेकाएको केहिबेरमै बेलिब्रिज खसेको थियो। बेलिब्रिज खस्दा ६ जना घाइते भएका थिए ।
घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ भने २ जना सामान्य छन्। उनीहरू सबैलाई उपचारका लागि नोबेल मेडिकल कलेज विराटनगरमा भर्ना गरिएको छ । घटनामा बाराको सिमरा उपमहानगरपालिका–१२ घर भएका २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिशेक चौधरी घाइते छन् ।
मेची राजमार्गअन्तर्गत पाँचथर खण्डमा रहेको हेवा खोलाको पक्की पुल पहिलो पटक २०८० असार २ गतेको बाढीले बगाएपछि त्यहाँ पहिलो पटक बेलिब्रिज बनाइएको थियो । सो बेलिब्रिज २०८१ गत असोज १२ गते आएको बाढीले पुनः बगाएपछि दोस्रो पटक बेलिब्रिज हाल्न संघीय सरकारले सडक डिभिजन इलाममार्फत प्रक्रिया अगाडि बढाएर दोभान सुपर सौगात लाइट बिल्डर्स जेभि नामक निर्माण व्यवसायी कम्पनीसँग सम्झौता गरेर काम गरिरहेको छ ।
पुल बगेपछि यहाँ ह्युम पाइपमार्फत् डाइभर्सन गरेर यातायात सुचारु गराइँदैछ । यद्यपि ठुलो वर्षा भएर खोलो बढ्नासाथ डाइभर्सन छोपिने र बग्ने जोखिम छ । बेलिब्रिज खसेसँगै वर्षायाममा पुनः मेची राजमार्ग भएर पाँचथर सदरमुकाम फिदिमदेखि ताप्लेजुङसँगै पाँचथरको हिलिहाङ, याङवरक र फालेलुङ सडक सम्पर्क विच्छेद हुने जोखिम बढेको छ।