झापा, असार २ । इलाममा अरिङ्गालले टोकेर प्रहरी सहायक निरीक्षक घाइते भएका छन् ।

हिजो साँझ बिर्तामोडबाट मंगलबारेतर्फ जाँदै गरेको प्र१–०१–००१ च ९७७८ नं.को खाद्यान्न बोकेको पिकअप इलाम नगरपालिका ११ सोयाकको आहालेमा आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनाका घाइतेहरुलाई उद्धार गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय इलाममातहत प्रहरी चौकी चिसापानीमा कार्यरत प्रहरी सहायक निरीक्षक बुद्धिबहादुर कटुवाललाई अरिङ्गालले टोकेको हो । ५–६ वटा रातो अरिङ्गालले शरीरको बिभिन्न भागमा टोकेपछि घाइते भएका कटुवाललाई उपचारको लागि चिसापानी स्वास्थ्य चौकी इलाम पठाइएको छ । उनको अवस्था सामान्य रहेको बताइएको छ।
सो दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । दुर्घटनामा गाडी मालिक झापा खुदुनाबारी घर भई हाल इलाम देउमाई ९ नवमी बजारमा व्यवसाय गर्दै आएका ३८ वर्षीय बिष्णु पराजुलीको मृत्यु भएको हो ।
त्यस्तै गाडी मालिक पराजुलीकी छोरी ८ वर्षीया प्रेयन्सा पराजुली र इलाम देउमाई ९ जितपुर बस्ने २२ वर्षीय आइतबहादुर लिम्बू घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडतर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।