झापा, असार २ । झापामा एक महिनामा ५१ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

जेठ महिनामा जिल्ला प्रहरी कार्यालय झापा र मातहतका प्रहरी युनिटबाट खटिएका प्रहरी टोलीले त्यति धेरै संख्यामा फरार प्रतिवादी पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताए ।

पक्राउ पर्नेमा उच्च अदालत विराटनगर इलाम इजलासको २०७२ असार १६ गतेको फैसलाले जबरजस्ती करणी र चोरी मुद्दामा १० बर्ष कैद फैसला भई फरार रहेका मेचीनगर नगरपालिका वडा नं.७ बस्ने ३२ वर्षीय प्रदिप राई र उच्च अदालत पाटनको २०८० फागुन २९ गतेको फैसलाले राजश्व चुहावट मुद्दामा १ बर्ष २ महिना १५ दिन कैद र २ करोड ८४ लाख ५८ हजार ६०५ रुपैयाँ जरिवाना फैसला भई फरार रहेका बिर्तामोड नगरपालिका वडा नं.८ बस्ने ३० वर्षीय अमिर ल्वागुन बिश्वकर्मासमेत छन् ।

बिभिन्न मुद्दामा दोषी प्रमाणित भएर फरार रहेका ४३ जना पुरुष, ७ जना महिला र एकजना तेस्रो लिङ्गीलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि झापा जिल्ला अदालतमा उपस्थित गराई कैद असुल बाँकी रहेका प्रतिवादीहरुलाई कैद भुक्तानको लागि कारागार पठाइएको डीएसपी खड्काले जानकारी दिए । उनका अनुसार जरिवाना असुल गर्न मात्र बाँकी रहेका प्रतिवादीहरु जरिवाना दाखिला गराई लगत कट्टा गरी छुटेका छन् ।

सो बाट कैद–३१ वर्ष ५ महिना २६ दिन तथा .२ करोड ९९ लाख ७८ हजार ५६० रुपैयाँ जरिवाना असुल भएको जनाइएको छ । फरार प्रतिवादी पक्राउ अभियान जारी रहेकोमा त्यसलाई अझ तीब्रता दिइएको झापा प्रहरी प्रमुख एसपी राजन लिम्बूले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्