झापा, असार ३ । धरानबाट इटहरीतर्फ ल्याउँदै गरेको ठूलो मात्रामा गाँजासहित मिनी ट्रक प्रहरीले पक्राउ गरेको छ।


गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले सोमबार राति १ः३० बजे इटहरी उपमहानगरपालिका–२० तरहरा नजिकै कोशी लोकमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको ना. ५ ख ६११६ नम्बरको सेतो रंगको मिनी ट्रक जाँच गर्दा गाँजा बरामद भएको हो।

प्रहरीका अनुसार ट्रकमा ४८ बोरा बन्दाकोबी र १२ बोरा आलुले छोपेर लुकाइ राखिएको अवस्थामा ७० बोरा गाँजा (कुल २१०० केजी) फेला परेको छ। प्रहरीले तीन जनालाई समेत नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका–६ का ३२ वर्षीय राजेन्द्र राई, ट्रकमा सवार ३३ वर्षीय सुनिल राई र चेकिङका क्रममा शंकास्पद रूपमा आएका सुनसरी बराहक्षेत्र नगरपालिका–९ का ३४ वर्षीय सुमन राई छन्।हाल बरामद गाँजा, ट्रक र पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्