मेचीनगर, असार ३ । पछिल्लो समय बाहुनडाँगीमा हुलका हुल आएका हात्तीले जनधनको क्षति गर्न थालेपछि नेपाली सेनालाई गुहारिएको छ ।

मेचीनगर नगरपालिकाको पहलमा सरोकारवाला निकायसँग बसेको बैठकले नेपाली सेनालाई सहयोगका लागि आग्रह गर्ने निर्णय गरेको हो ।
नगर प्रमुखको कार्यकक्षमा जिल्ला प्रशासन कार्यालय झापाको आयोजनामा बसेको बैठकले निरन्तर हात्तीले आएर क्षति गर्न थालेपछि अरिदमन गण चारआलीका नेपाली सेनालाई सहयोग गर्न अनुरोधसहित विभिन्न निर्णयहरु गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको छलफलमा कोशी प्रदेशका सांसद गोपाल तामाङ, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, अरिदमन गण चारआलीका गणपति प्राजु वस्न्यात , जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजन लिम्बू, सशस्त्र प्रहरी वल नेपाल २ नं.हेडक्वार्टरका गणपति तुलबहादुर भण्डारी, डिभिजन वन कार्यालय झापा प्रमुख भरतबाबु श्रेष्ठ, एनटीएनसी कोशीका प्रमुख वीरेन्द्र गौतम, मेचीनगर–१ का वडाध्यक्ष रामकुमार राई, २ का वडाध्यक्ष दिपक बराल, ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षक मञ्चका कार्यबाहक अध्यक्ष राजकुमार घिमिरे, पूर्व अध्यक्ष हरिप्रसाद उप्रेतीलगायतले हात्तीका समस्या, उपाय र समाधानका बारेमा घनिभूत छलफल गरेका थिए ।
छलफलमा अरिदमन गण चारआलीका गणपति वस्न्यातले निकुञ्जमा हात्ती धपाउन समस्या नरहेको बताए । उनले बाहुनडाँगी तथा झापा निकुञ्ज क्षेत्र नभएकोले के गर्न सकिन्छ भनेर उपल्लो तहमा कुरा गर्ने बताए ।
छलफलले विभिन्न पाँचवटा निर्णय गरेको छ ।
(१) हात्तीलाई धपाउने क्रममा स्थानीयबाट होहल्ला गर्दा हात्ती उत्तेजित भइ झन् धेरै क्षति गर्ने भएकाले हात्ती मानव द्वन्द्व कम गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, डिभिजन वन कार्यालय झापा, स्थानीय जानकार व्यक्तिहरुको संलग्नतामा हाती मानव द्वन्द्व न्यूनीकरण गर्न पहल गर्ने , तत्काल आवश्यक पर्ने इन्धन, टर्चलाइट लगायतका अत्यावश्यक सामग्री डिभिजन वन कार्यालय झापाले उपलब्ध गराउने र नपुग भएमा मेचीनगर नगरपालिकाले सहयोग गर्ने ।
(२) दीर्घकालीन रुपमा समस्या समाधानका लागि फेन्सिङ बत्ती प्रवन्ध, सडक मर्मत, तटबन्ध र जनचेतना जगाउन जरुरी हुने भएकाले फेन्सिङका लागि के कति बजेट आवश्यक हुन्छ ? डिभिजन वन कार्यालयले मेचीनगर नगरपालिका र मानव हात्ती द्वन्द्व ब्यबस्थापन तथा वातावरण संरक्षण मञ्च समेतसंग समन्वय गरी लागत अनुमान तयार गर्ने र स्रोतका लागि डिभिजन वन कार्यालयले प्राथमिकतामा राखी आवश्यक कार्य गर्ने , नपुग बजेटका लागि मेचीनगर नगरपालिका लगायतका निकायसंग समन्वय गर्ने , साथै एनटिएनसीले समेत उक्त विषयलाई गम्भीरतापूर्वक लिई फेन्सिङ र जनचेतनामुलक कार्यक्रमका लागि बजेट प्रवन्ध गर्ने ।
(३) ठुलो मात्रामा हात्ती आइरहने क्रम रहिरहेमा नेपाली सेनाले गर्न सक्ने सहयोगको बारेमा अरिदमन गणका गणपतिलाई आवश्यक सहयोग र समन्वयका लागि अनुरोध गर्ने ।
(४) ठाउँ–ठाउँमा तटबन्ध निर्माणबाट पनि हाती प्रवेशमा न्यूनीकरण गर्न मद्धत पुग्ने भएकाले जनताको तटबन्ध कार्यालयलाई तटबन्धको लागि जिल्ला प्रशासन कार्यालयले समन्वय गर्ने ।
(५) दीर्घकालीन समस्या समाधानका लागि आवश्यक बजेट प्रवन्ध गरिदिन वन तथा वातावरण मन्त्रालय तथा कोशी प्रदेश सरकारलाई नगरपालिका र जिल्ला प्रशासन कार्यालयमार्फत अनुरोध गर्ने , यस कार्यका लागि सम्बन्धित क्षेत्रबाट संघीय सांसद र कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदलाई समेत पहलकदमीका लागि अनुरोध गर्ने ।
कार्यक्रमको सहजीकरण झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले गरेका थिए ।