झापा, असार ३ । मेयर हर्कराज राई (हर्क साम्पाङ) र उपमेयर अइन्द्रबिक्रम बेघा बीचको विवादका कारण धरान उपमहानगरमा तनाव सिर्जना भएको छ।

सोमबार धरानका मेयर राईले चलाएको श्रमदान अभियानको डोर हाजिर गरी उपमहानगरपालिकाबाट भुक्तानी लिन खोजेपछि उपमेयर बेघाले विरोध जनाएका थिए। त्यसपश्चात् मेयर राईले आफ्ना समर्थकलाई कार्यालय बोलाएर आफूलाई आक्रमणको प्रयास गरेको बेघाले आरोप लगाएका छन्।

आक्रोशित बनेका बेघा समूहले मेयर राई विरुद्ध पनि आक्रमण प्रयास गरेपछि धरानको स्थिति तनावग्रस्त छ। दुबै समूहका दर्जनौं कार्यकर्ताहरू अहिले उपमहानगरपालिकामा आएर एक अर्काविरुद्ध नाराबाजी र आक्रमणको प्रयास गरिरहेका छन्।

श्रमदानमा भएको खर्चलाई पनि बजेटमा समावेश गर्नु पर्ने भन्दै उपमेयरलाई दवाब दिएको थाहा पाएपछि वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले मेयर साम्पाङको तीब्र विरोध जनाएका छन् । त्यसपश्चात् मेयर साम्पाङनिकट श्रमदाताहरू र उपमेयर बेघानिकट नेकपा माओवादी धरान १७ का वडा अध्यक्ष मनोजकुमार भट्टराईको नेतृत्वमा धरान नगर अध्यक्ष उद्धव लिम्बूसहित दुवै पक्षको करिव ३५० जना भेला भएको प्रहरीले जनाएको छ । उनीहरु नगरपालिकाको गेट अगाडि रहेका छन् । हाल मेयर र उपमेयरबिच छलफल भैरहेको जनाइएको छ ।

दुबै तर्फका कार्यकर्ताहरूलाई रोक्न इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगु र वडा प्रहरी कार्यालय धरानका प्रहरी नायव निरीक्षक रुद्र खड्काको नेतृत्वमा ४० जना र सशस्त्र प्रहरी बल बेस क्याम्प धरानबाट सशस्त्र प्रहरी नायव उपरीक्षक संजिव पौडेलको नेतृत्वमा १३ जना सुरक्षाकर्मी खटिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्