झापा, असार ५ । झापाको अर्जुनधारामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

चार दिनअघि असार १ गते राति ८ः४५ बजे अर्जुनधारा नगरपालिका २ रातेस्थित भित्री सडकखण्डमा खुदुनावारीबाट रातेतर्फ जाँदै गरेको मे ४ प ७४६७ न. को मोटरसाइकलले पैदलयात्री वडा नं २ बस्ने ३६ वर्षीय लेखबहादुर दर्जीलाई ठक्कर दिएको थियो ।

टाउकोमा चोट लागेर घाइते भएका दर्जीलाई बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भइरहेकोमा आज बिहान ८ः१० बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतकको शव सोही अस्पतालमा रहेको छ । मोटरसाइकल र मोटरसाइकल चालक अर्जुनधारा ४ बस्ने २३ वर्षीय अंकित चौधरीलाई अस्थायी प्रहरी चौकी खुदुनावारीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्