झापा, असार ७ । स्कटल्यान्डले तीनदेशीय ट्वान्टी–२० शृंखलाको उपाधि जितेको छ । अन्तिम तथा उपाधिको हिसाबले निर्णायक खेलमा स्कटल्यान्डले शुक्रबार नेपाललाई ३४ रनले पराजित ग¥यो ।


स्कटल्यान्डको ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा १ सय ९४ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १८.५ ओभर खेली १ सय ५९ रनमा अलआउट भयो ।

डबल राउन्ड रोबिनमा आयोजित प्रतियोगितामा स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सले समान २ खेलमा जित र २ मा पराजय भोगे पनि नेट रनरेटमा स्कटल्यान्ड शीर्ष स्थानमा रहँदै विजेता बन्यो । नेपाल दोस्रो स्थानमा रह्यो ।

यसै शृंखलादेखि ‘डेब्यु क्याप’ पाएका रुपेश सिंह ४३ रन बनाई अविजित रहे । उनले २२ बल खेली १ चौका र ३ छक्का प्रहार गरे । नेपालबाट सर्वाधिक ८१ औं ट्वान्टी÷२० अन्तर्राष्ट्रिय खेल खेलिरहेका दीपेन्द्र सिंह ३४ रनमा आउट भए । उनले ३३ बल खेली समान १ चौका र छक्का प्रहार गरे । कुशल भूर्तेल ४, भीम सार्की १२, आसिफ शेख १४, आरिफ शेख र लोकेश बम समान ५ रनमा आउट भए । कप्तान रोहित पौडेलले २० बल खेली ४ चौकासहित २७ रन बनाए । सन्दीप लामिछाने शून्य, रिजन ढकाल ५ र ललित राजवंशी १ रनमा आउट भए । स्कटल्यान्डका क्रिस ग्रिभ्सले ३ ओभरमा २७ रन खर्चेर ३ र साफ्यान सरिफले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्डले ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा ५ विकेट गुमाई १ सय ९३ रन बनाएको थियो । जर्ज मुन्सी र ब्रान्डन म्याकमुलेनले आक्रामक ब्याटिङ गर्दै दोस्रो विकेटमा १ सय रनको साझेदारी गर्दै स्कटल्यान्डलाई विशाल लक्ष्यमा उभ्याए । कामचलाउ ओपनरको रुपमा खेल्दै आएका मार्क वाट अर्को खेलमा पनि चल्न सकेनन् । उनलाई रुपेश सिंहले ९ रनमा बोल्ड गरे ।

त्यसपछि खेलमा हावी भएका ओपनर मुन्सीले ३९ बल खेली ५ चौका र ६ छक्का प्रहार गरी ७८ र म्याकमुलेनले ३० बल खेली ४ चौका र १ छक्कासहित ४२ रन बनाए । कप्तान रिची बेरिङटन ९, फिन्ले म्याकक्रिथ १ रनमा आउट भए । म्याथ्यु क्रस १३ बल खेली २ चौका प्रहार गरि १७ र माइकल लिस्क १७ बल खेलि १ चौका र २ छक्का प्रहार गरि २६ रनमा अविजित रहे ।

स्कटल्यान्डसँगको खेलअघि नेपालले प्रतियोगिताको पहिलो तीन खेलमा २ मा विजय हात पारेको थियो । नेदरल्यान्ड्ससँग आइतबार नेपाल तीन सुपर ओभरमा टुंगिएको खेलमा पराजित भएको थियो । मंगलबार स्कटल्यान्डलाई ‘लो स्कोरिङ’ खेलमा २ विकेटले पराजित गरेको नेपालले बिहीबार नेदरल्यान्ड्समाथि ६ विकेटको सानदार विजय हात पारेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्