बिर्तामोड , असार ९ । वीरता जुनियर जेसीज बिर्तामोड, भद्रपुर जुनियर जेसीज र धुलावारी जुनियर जेसीजको संयुक्त आयोजनामा लागूऔषधविरुद्ध कोरा साइक्लिङ हुने भएको छ।

गत असार ३ गते धुलाबारीस्थित पासाङल्हामू जेसीज प्रतिष्ठानमा वीरता जुनियर जेसीजका अध्यक्ष अस्मित गोसाई , भद्रपुर जुनियर जेसीजका अध्यक्ष सनम शाशंकर, धुलाबारी जुनियर जेसीजका अध्यक्ष सृजित ढुंगानाको अध्यक्षतामा बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो।
यही असार १७ र १८ गते “सामाजिक उत्तरदायित्वमा जुनियर जेसीजः लागूऔषधविरुद्ध साइकल र्याली र वृहत शैक्षिक सामग्री एवम् खाद्यान्न वितरण अभियान ” सञ्चालन गरिने वीरता जुनियर जेसीज बिर्तामोडका अध्यक्ष गोसाईले बताए। कोरा साइक्लिङअन्तर्गत झापाका तीन वटा जुनियर जेसीजको आयोजनामा लागू औषधविरुद्ध साइकल र्याली, वृक्षारोपण , खाद्यान्न तथा शैक्षिक सामग्री वितरण, पर्यटन प्रबर्द्धन एवं तालिमलगायतका कार्यक्रम गरिने उनले बताए।
काँकडभिट्टा नाकामा देखिएको बढ्दो लागूऔषध दुर्व्यसन न्यूनीकरण गर्नका लागि काँकडभिट्टादेखि निन्दा सिरानसम्म लागूऔषधविरुद्धको साइकल र्याली निकालिने भएको बताउँदै उनले यो कार्यक्रमले बढ्दो लागूऔषध दुर्व्यसनबिरूद्ध सकारात्मक सन्देश दिने जनाए।
कोरा साइक्लिङमा सहभागीहरूले साइकल र सवारीसाधनमा लागूऔषध बिरूद्धका नारासहित यात्रा गर्दै निन्दा सिरानबाट थप दुई घण्टा ट्रेकिङ गर्दै स्थानीय प्राथमिक विद्यालयसम्म पुगेर त्यहाँ वृक्षारोपण गरी विद्यार्थीहरूलाई स्टेशनरी वितरण गरिने भद्रपुर जुनियर जेसीजका अध्यक्ष सनम शाशंकरले बताए । कार्यक्रमको दोस्रो दिन अति विपन्न समुदायलाई खाद्यान्न वितरण गरिने उनले बताए ।
धुलाबारी जुनियर जेसीजका अध्यक्ष सृजित ढुंगानाले आफूहरूको यस अभियानले युवालाई सकारात्मक क्रियाकलापतर्फ उन्मुख गराउने, लागूपदार्थ दुर्व्यसनबाट जोगाउने र समाजमा सहकार्य, सद्भाव र मानवताको सन्देश फैलाउने बताए। कार्यक्रमको संयोजकहरूमा वीरता जुनियर जेसीजका सञ्चार संयोजक युनिस कार्की , भद्रपुर जुनियर जेसीजका कानूनी सल्लाहकार प्रतिक लम्साल, धुलाबारी जुनियर जेसीजका अतित गौतम रहेका छन्।