झापा, असार ११ । मोरङ कारागारका दुईजना कैदीको मृत्यु भएको छ ।

ज्यान मार्ने उद्योग र ज्यान सम्बन्धी कसूर तथा लागूऔषध कसूरमा कैदी जीवन बिताइरहेका दुई जना कैदीको मृत्यु भएको हो ।

ज्यान मार्ने उद्योग र ज्यान सम्बन्धी कसूर मुद्दाका कैदी मोरङ मिक्लाजुङ ६ बस्ने २९ वर्षीय संजय तामाङको स्वास प्रश्वासमा समस्या भएपछि असार १ गते कोशी अस्पतालमा लगि उपचार भइरहेको थियो । थप उपचारको लागि असार ५ गते उनलाई नोबेल अस्पतालमा लगिएको थियो । आज पुनः कोशी अस्पतालमा ल्याएकोमा आज साँझ डाक्टरले मृत घोषणा गरेका थिए ।

उनले २०७८ भदौ ४ गतेबाट २५ बर्ष कैद र रु. २ हजार ८०० रुपैयाँ जरिवाना तोकि कैद भुक्तान गरिरहेका थिए ।
त्यस्तै लागूऔषध कसूरमा कैदी जीवन बिताइरहेका सुनवर्षी नगरपालिका वडा नं २ बस्ने २४ वर्षीय उमेश दर्जीको उपचारका क्रममा मृत्यु भएको छ ।

ज्वरो आउने, दुवै खुट्टा सुन्निने समस्या भएपछि उनलाई गत जेठ ३० गते कोशी अस्पताल बिराटनगरमा भर्ना गरिएको थियो । थप उपचारको लागि असार ३ गते साँझ ७;३० बजे बिराट टिचिङ अस्पताल गंगाचोकमा लगि भर्ना गरी उपचार भइरहेकोमा हिजो साँझ ७;५५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

लागूऔषध कसूरमा गत पुष ४ गतेबाट ५ बर्ष २ महिना र ७ हजार रुपैयाँ जरिवाना तोकी उनले कैद भुक्तान गरिरहेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्