झापा, असार १३ । दक्षिणी झापा गाउँपालिकाको लसुनगञ्ज नाकालाई लागूऔषध तस्करहरुले लागूऔषध भित्र्याउने बाटोको रुपमा प्रयोग गर्न थालेपछि प्रहरीले कडाई गरेको छ ।

इलाका प्रहरी कार्यालय कुमरखोदले स्वीप अपरेशन गरी एकैदिन १४ जनालाई पक्राउ गरेको छ । कार्यालयका इन्चार्ज प्रहरी नायव निरीक्षक किरण मोक्तानको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्नेक्रममा १४ जना लागूऔषध दुर्व्यसनीहरुलाई नियन्त्रणमा लिएको हो ।
हिजो दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म झापा गाउँपालिकाको वडा नम्बर १,२ र ४ को सीमावर्ती क्षेत्रमा प्रहरी टोलीले स्वीप अपरेशन गरेको थियो । नियन्त्रणमा लिएका उनीहरुलाई इप्रका कुमरखोदमा राखेर आज सम्झाइ बुझाइ आफन्त र अभिभावकको जिम्मा लगाई छाडिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र खड्काले बताए ।
गत जेठ २६ गतेदेखि किरण मोक्तानले इलाका प्रहरी कार्यालय कुमरखोदको कमाण्ड सम्हालेका छन् । उनी आएदेखि चौबीसै घण्टा गस्ती हुँदै आएको छ । त्योसंगै हाइवे गस्ती , सीमा सुरक्षा , छड्के स्वीप अपरेशनजस्ता कार्वाही गरिदै आएको प्रहरी नायव निरीक्षक मोक्तानले जानकारी दिए । खुल्ला सिमानाका कारण चोरी तस्करी , लागूऔषध नियन्त्रण गर्न सवैभन्दा ठुलो चुनौती रहेको भन्दै उनले सबैको सहकार्यमा समाधान गरिरहेको जानकारी दिए ।
झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले दुई नम्बरी काम गर्नेलाई जनप्रतिनिधिहरुको बिना दबाब काम गर्न भनेर प्रहरीलाई आग्रह गरेको जानकारी दिइन् । उनले शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रशासनसंग सहकार्य गरिरहेको बताइन् ।
झापा गाउँपालिका वडा नं ६ का वडाध्यक्ष नविनकिशोर थापाले लागूऔषधको समस्याले परिवारको कोही पनि सुरक्षित रहने अबस्था नरहेपछि प्रहरी नायव निरीक्षक मोक्तानले चालेको कदम सह्रानीय भएको बताए । राम्रो काम गर्नेलाई आफूहरुको तर्फबाट सँधै सहयोग र हौसला रहने उनको भनाई छ ।
पछिल्लो समयमा झापा बजारमा शान्ति सुरक्षाको व्यवस्था सुदृढ बन्दै गएको बजार व्यवस्थापन समितिका अध्यक्ष बरतलाल राजवंशीले बताए ।