जनताको बहुदलीय जनवादले तीन दशक पार गरिसकेको छ । यस लामो अन्तरालमा जबजमार्फत् मूलतः नेपाली कम्युनिस्ट र प्रजातान्त्रिक आन्दोलनमा प्राप्त उपलब्धि र प्राप्ति केलाउनु जरुरी हुन्छ । जतिबेला संसारबाट कम्युनिस्ट आन्दोलन धराशायी र धुलिसात् भएको थियो । त्यति नै बेला नेपालमा कम्युनिस्ट आन्दोलनको हँसिया हथौडा चिन्ह अङ्कित लाल झण्डा फहराएको थियो । तत्कालीन रुसमा समाजवाद ढलेपछि उपर्युक्त महासङ्कट विश्वव्यापी रुपमा सिर्जना भएको थियो । कम्युनिस्ट आन्दोलनमा आएको वैश्विक सङ्कट हटाउन जननेता मदन भण्डारी जबजमार्फत् लागिपरेका थिए । उनी यो संकट आउनुभन्दा पहिले नै माक्र्सवादको पुनः सृजनका सवालमा लामो समयदेखि गहन अध्ययनमा लागिपरेका थिए ।

यसैको परिणाम उनी पार्टीको महासचिव भएका थिए । मदनकै मार्गदर्शन र सहजीकरणमा संयुक्त बाम मोर्चा निर्माण गरी नेकासित समेत सहकार्य गर्दा ०४६ सालको आन्दोलन सफल भएको थियो । जबजका आलोकमा सार्वभौमसत्ता जनतामा निहित नेपालको संविधान २०४७ जारी हुन सकेको हो । उक्त संविधानलाई अझ लोकतान्त्रिक बनाउन मदनले २७ बुँदे सही खालका फरक मत राखेका थिए । ०४६ पछि प्रतिगामी दरवारिया शक्ति पुनर्जीवित हुनसक्ने खतरा थियो । त्यसैले प्राप्त उपलब्धिलाई जोगाउन र जगेर्ना गर्न नेकासित संक्रमण कालमा सहकार्य गर्ने प्रस्ताव गरिए पनि कार्यान्वयन हुन सकेन । तथापि पार्टीले अनेक क्षति सहेर भए पनि जबजका आलोकमा नेकासित न्यूनतम सबालमा एकताबद्ध हुने र गर्ने प्रयत्न गरिएको थियो ।

आसन्न र सम्भावित सङ्गीन संकट देखेर अहिले नेका र एमालेका बीच संयुक्त सरकार बनेको छ । देश चरम अस्थिरताको दलदलमा परेका बेला देशमा उथलपुथल ल्याएर असफल राष्ट्र बनाउन उद्यत अवस्था देखेर एमाले र नेकाको संयुक्त सरकार बन्न बाध्य भएको स्थिति हो । जे जस्ता भित्री र बाहिरी परिघटना भए पनि संकटका साथी र सारथीहरु मिल्छन् भन्ने कुरा विभिन्न उदाहरुबाट प्रमाणित हुन्छ । यी दुवै शक्तिले २०६२ ,०६३ को शान्तिपूर्ण सर्वाधिक ऐतिहासिक जनआन्दोलनमा देशमा जनधनको अपार क्षतिका साथ युद्धरत माओवादीलाई समेत साथमा लिए । यसले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित हुन गयो । उक्त आन्दोलन आपसी सहमतिमा स्थगन भए पनि माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी र कार्यकर्तालाई संघर्षरत रहन कडा निर्देश गरे तर पनि त्यसको सुनवाइ भएन । बहालवाला सेनापतिलाई बलात् हटाई देशभित्र इतर पक्षलाई दमन गर्दै चरम विग्रह ल्याउने जस्ता अनेक प्रपञ्च रचिए ।

२०६२–०६३ बाट प्राप्त उपलब्धि जोगाउन जबजको आलोकमा नेका सहित भएर काम भइरह्यो । प्रथम महिला राष्ट्रपति विद्या भण्डारीको संविधानको पालन र संरक्षणको भूमिका विशिष्ट रह्यो । संविधान अन्तर्गत रहेर नेपाल राष्ट्र,राष्ट्रियता र राष्ट्रिय स्वाधीनताका सबालमा निर्वाह गरेको भूमिका उदाहरणीय रह्यो र यसैले एमाले पार्टीले उनलाई गणतन्त्र गौरवका रुपमा उच्च सम्मान समेत गरेको थियो । नेपालमा संविधान २०७२ निर्माण र जारी नै गर्न नदिने, अमानवीय नाकाबन्दी लगाएर नेपाललाई चरम अस्थिरताको भुँवरीमा पार्ने दुष्प्रयत्नलाई नाकाम पार्न एमालेको भूमिका अब्बल रहेको छ । नौमहिने र ओली नेतृत्वको एकल सरकारका बेलाका कामहरु अविस्मरणीय रहेका छन् ।

तर जबज अनुसार पार्टीलाई गुणात्मक बनाउने दिशामा भने पर्याप्त कमजोरी देखिएका छन् । जननेता मदन भण्डारीको षडयन्त्रपूर्वक हत्या गरिएपछि यो पार्टी सैद्धान्तिक र सांगठनिक दृष्टिकोणले बरालिन थालेको थियो । संगठनिक दृष्टले पार्टीलाई लोकतान्त्रिकरण गर्ने विषयमा सुरुमा दुराग्रह राख्ने तर समय क्रममा त्यसैलाई अनुशरण गर्ने लगायत द्वैध चरित्र अपनाइयो । योग्य र योग्यतमलाई उचित जिम्मेवारी प्रदान गर्ने मदनको सोचलाई उतिबेला पनि बेवास्ता गरियो यो अवस्था अहिले पनि ज्युँका त्युँ देखिन्छ । जननेता मदन भण्डारीले पार्टीलाई प्रतिभाको फूलबारी बनाउन खोजेका थिए तर यो पार्टी काँडाघारीमा परिणत हुन थाल्यो । काम स¥यो भाँडो आफल तेरो ठाँडो गर्न थालियो । संयोगले के.पी. शर्मा ओली पार्टीको ९ औँ महाधिवेशनमा अध्यक्ष भएपछि यो पार्टी मण्डलेकरण हुनबाट बच्यो । ओली नेतृत्वपछि यो पार्टी एकताबद्ध सशक्त र सुदृढ हुन थाल्यो । यस पार्टीलाई यसै पार्टीका उपल्ला तहका एकाध नेताले खरानी पार्न खोजे पनि तिनलाई पार्टीले उठ्नै नसक्ने थला पा¥यो । मात्रात्मक रुपमा राजकीय र राजनैतिक क्षेत्रमा निक्कै सकारात्मक भूमिका निर्वाह गरे पनि गुणात्मक दृष्टिकोणले एमाले पार्टी अहिले सार सौन्दर्यविहीन देखिन्छ ।

कुनै पनि वस्तु,विषय र क्षेत्रमा चुरो चाहिँ विशेष महत्वपूर्ण हुन्छ । यही चुरोका कारण सतिसाल सय वर्ष लडा,खडा र पडा रहनसक्छ वा जीवित रहन्छ । प्रगतिशील सरकार र सत्ताका लागि प्रगतिशील सांस्कृतिक चुरो अपरिहार्य हुन्छ । सामन्तवादी नायक हटे पनि उनको चरम अन्धविश्वासी धार्मिक सांस्कृतिक चुरो जीवित रहेको हुँदा लोकतान्त्रिक सरकारलाई ऐयाऐया र आच्छुआच्छु पारेको हो जननेता मदन भण्डारीले जबजमा सामाजिक कुरीति,अन्धविश्वास रुढीगत धारणाहरुलाई सामाजिक सांस्कृतिक सुधार आन्दोलन चलाई हटाउँदै लगिने छ भन्ने कुराको मर्म पार्टीले अझै बुझेकै छैन ।

मदनले भनेझै सामन्तवादी भूतप्रेतले बेलैदेखि नपन्छाउँदा यसले गणतन्त्रलाई तर्साउन खोजेको देखियो । जनताको जनवादी व्यवस्थाको सुदृढीकरण शीर्षकको तेस्रो उपचरणका चर्चाका क्रममा भण्डारीले सांस्कृतिक रुपान्तरण गर्ने विषयलाई शीर्ष महत्व दिएको देखिन्छ । यस दिशारित पार्टीले सिन्को पनि भाँचेको छैन । पार्टीमा प्रतिस्पर्धा र पहलकदमीबाट श्रेष्ठता हासिल गर्ने, आफैभित्र स्वस्थ्य प्रतिस्पर्धा गर्ने,योग्य र योग्यतम छानेर उपयुक्त जिम्मेवारी प्रदान गर्ने कुरा अहिले समाप्त प्रायः देखिन्छ ।

मार्क्सले परिवर्तित परिस्थितिमा पनि जोसुकै नेता, बुद्धिजीवी र स्रष्टाहरुका मन मस्तिष्कमा पुरानै शाषक र शासन सत्ताका विचार, चिन्तन, संस्कार र संस्कृति प्रभावी हुन्छ भनेका छन् । नभन्दै अहिले पनि एमाले उपल्ला तहका अत्यधिक नेताहरुमा सामन्तवादी संस्कार र संस्कृतिक कुरुप पक्ष सिरदेखि तीरसम्म प्रभावी देखिन्छ । म, मैले र मेरो मात्र भन्नु सामन्तवादी अहं र अहङ्कार हो । उपल्लै तहका नेताहरु नस, नाता र गोतालाई काखी च्याप्छन्, गणेश शैलीलाई काँधमा बोक्छन् । धन, दौलत, आय आर्जन तथा चरम अवसरवादमा लिप्त छन् । इटहरी उपमहा नगरपालिकाको हाल जुन अत्यन्त निराशाजनक, दयनीय र कुरुप दृश्य देखिन्छ । त्यसका पछाडि तत्कालीन एमाले जिल्लाको हात छ । आफ्नै वार्डमा पार्टी हार्छ तै पनि तिनै ठूला नेता मानिन्छन् । आफ्नै घर करासामा संस्कृत विश्व विद्यालयका उपकुलपतिलाई उदण्ड जत्थाले आक्रमण गर्दा मौन र मुकदर्शक बन्छन् । छरछिमेक र जनतासित एक थोपो मैत्रीभाव, मरमिजास र हिमचिम नै छैन । तैपनि तिनी ठूला गनिन्छन् ।

सुनियोजित रुपमा गोप्य तरिकाले षडयन्त्रपूर्वक आफ्ना नितान्त निजी गुट बनाउँछन् र ११ औँ महाधिवेशनमा अध्यक्ष हुन गुप्तगु षडयन्त्र गर्छन् तर आम कार्यकर्ता समक्ष गुटको विरोध गरि टोपल्छन् । लुम्बिनीमा संसदीय दलको प्रमुखलाई एक वचन नसोधी आचार्य थरिलाई मुख्यमन्त्री बनाउँछन् । पार्टीको वरिष्ठ उपाध्यक्षलाई अपमानित गरेझैँ गर्दै पार्टी कार्यक्रमका सन्दर्भ पारेर देश दौडाहा गर्छन्, गराइन्छन् । मदन भण्डारी फाउन्डेशनले पार्टीमा अभर परेका बेला कलात्मक हस्तक्षेप गरेको थियो । अहिले झन् फाउण्डेशन धेरै चनाखो हुनुपर्ने अवस्था देखिँदैछ ।
२०५० साल जेठ ३ गते जननेता मदन भण्डारीले पोखरामा पार्टी संगठन सञ्चालन बारे समसामयिक विचार प्रस्तुत गरेका थिए । उनले पाँचौ महाधिवेशनका निर्णय अनुरुप क्रियाशील हुँदा मात्रै पार्टीको उत्थान र प्रगति हुने कुरा किटानी गरेका थिए ।

अध्यात्मवाद भौतिकवादबारे नितान्त तार्किक, शास्त्रीय खालको प्रशिक्षणमा मात्र भर नपरी नेता, कार्यकर्ता र संगठकलाई स्वास्थ्य,शिक्षा,कृषि,पशु जस्ता प्राविधिक तथा संस्कृति र सांस्कृतिक रुपान्तरणजस्ता विषयमा प्रशिक्षित गर्नु पर्ने सुझाव दिएको देखिन्छ । परम्परागत प्रशिक्षणलाई मदनले अहिलेको परिस्थितिमा खोटपूर्ण ठहर गरेका छन् । यस खालको विविध विषयका सामान्य ज्ञान भएका संगठकहरुबाट जनसमाज लाभान्वित हुन्थ्यो भन्ने मदनको दृढ मान्यता देखिन्छ । अहिले त महँगा होटेल र लजमा बस्ने अधिकांश नेतामा प्रविधिक ज्ञान सुको पनि छैन र जतिसुकै प्रशिक्षित भए पनि अधिकांश नेता मृत आत्माको चिर शान्तिको कामना गर्छन् । तिनलाई सापेक्ष,तुलना ,अंश र समग्र जस्ता माक्र्सवादी मूल्याङ्कन गर्ने कुरा थाहा नै छैन । अनि तिनका अन्तर मनमा सबै जोगी कानचिराले जरा गाडेको देखिन्छ । पार्टीमा कमरेड महाराजको जगजगी देखिन्छ । यिनीहरु यति थेत्तरा छन्, बातले सुध्रिने लक्षण देखिन्न । चामल पनि बेच्न नजान्ने र नसक्नेको पार्टीमा राइँदाइँ देखिन्छ । वर्तमान अर्थमन्त्रीले अहिले र आज नै गुप्तगु आर्थिक चरम भ्रष्टाचार गरिरहेको नेता योगेश भट्राईले खुलासा गरेका छन् । आफू मात्र इमान्दार हुँ र छु भनेर हुँदैन । इमान्दारिताको माहौल तयार गर्नुपर्छ ।

भण्डारीले नेता र कार्यकर्तालाई एउटा टुल्स र औजारजस्तो मात्र भएर अब पुग्दैन र साँच्चै नेताजस्तो भएर काम नगर्ने किसिमको प्रवृत्तिलाई तोड्नु पर्ने बताएका छन् । पार्टीमा ब्रतबन्धको सार नै नबुझी बिरालो बाँध्ने संकार गर्ने नाममा लाखौँ खर्च गर्ने नेता कोशी प्रदेशमा छन् । ह्यापि वर्ड डे टु यु फु ग भन्दै बत्ती निभाएर र नेपालको नाम र नक्सा अङ्कित केक काटेर जन्मोत्सव मनाइन्छ । पार्टी कामको भुइँ अनुभव नै नभएकालाई केन्द्रीय बनाइन्छ । एमाले प्रवेश गरेको भोलिपल्ट नै दुवै हातमा लड्डु थमाइन्छ । एक मत बढाउनेभन्दा उल्टो घटाउनेलाई ठाडो आदेशमा प्रदेश सभासद बनाइन्छ । यी त देखिएका दृश्य हुन् । अनदेखमा भएका र खोजी गर्दा भेटिने विकृति मनग्गे हुनसक्छन् । संसदीय भासमा भासिने हो भने केही भन्नु छैन तर जबज अनुसार देश र जनताको हितलाई सर्वोपरि राखेर काम गर्ने हो पार्टीको नेतृत्वमा जबजको जीन अपरिहार्य हुन्छ उचालेकोले मृग मार्दैन । प्रतिस्पर्धामा अब्बल हुने र देखिने चुरो तथा टावर पर्सन्यालिटीले मात्र यो पार्टी एकताबद्ध र सबल बन्न सक्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्