झापा, असार १५ । बालबालिका तथा युवाहरुको व्यक्तित्व विकासको लागि विभिन्न सिर्जनात्मक कार्यक्रम गर्दै आएको पीसीएस प्रोडक्सन इन्टरटेनमेन्ट हाउस बिर्तामोडले दुईवटा महत्वपूर्ण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

पूर्वका बालबालिका र युवायुवतीलाई प्रतिभा विकास, आत्मविश्वास र नेतृत्व क्षमतामा सक्षम बनाउने उद्देश्यका साथ पीसीएस प्रोडक्सन इन्टरटेनमेन्ट हाउसले असार ७ गते मिस्टर एण्ड मिस रोयल झापा सिजन २ र सुपर लिटल प्रिन्स एण्ड प्रिन्सेस २०२५ भव्यरूपमा सम्पन्न गरेको हो । बिर्तामोडको चिरायु रोयल रिसोर्टमा ती दुई विशेष कार्यक्रम गरिएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । ४० दिन लामो राष्ट्रियस्तरको प्रशिक्षणपछि करिब ८ लाख रुपैयाँको बजेटमा ती कार्यक्रमहरू सम्पन्न गरिएको संस्थाका सिइओ पुकार कार्कीले बताए । उनले विजेताहरूलाई ३ लाख रुपैयाँ बराबरको पुरस्कार (नगद, उपहार, ब्रान्ड अफर आदि) प्रदान गरिएको जानकारी दिए । साथै अन्तर्राष्ट्रिय प्लेटफर्ममा सहभागी हुन गेटवे टिकट पनि उपलब्ध गराइएको उनको भनाई छ ।
मिस्टर एण्ड मिस रोयल झापा सिजन २ मा प्रेन्सी ओली र पेशल निरौला विजेता बनेका छन् । त्यस्तै फस्ट रनर अप दिपिका माझी र सेकेन्ड रनर अप साम्राज्ञी राज्यलक्ष्मी थपलिया भएका छन् । सो प्रतियोगितामा विशेष उपाधिको रुपमा दिपिका माझीलाई भ्युअर्स अफ च्वाइस , इसिका चाम्लिङ राईलाई मल्टिमिडिया अवार्ड, दिजेश थापा मगरलाई अर्गनाइजर्स च्वाइस र सुहाना थापालाई ब्राण्ड एम्बासेडर घोषित गरिएको थियो ।

त्यस्तै सुपर लिटल प्रिन्स एण्ड प्रिन्सेस –२०२५ तर्फ श्रेयांस चौधरी र एन्जल लिङ्देन विजेता बनेका छन् । त्यस्तै अंशु लिम्बू फस्ट रनर अप र प्रनिशा बराल सेकेन्ड रनर अप भएका छन् । विशेष उपाधिको रुपमा श्रेयांस चौधरीलाई भ्युअर्स च्वाइस , युमा पोखरेललाई मल्टिमिडिया च्वाइस , श्रेशक खनाललाई अर्गनाइजर्स च्वाइस र अमी श्रेष्ठलाई ब्राण्ड एम्बासेडर घोषित गरिएको छ ।

संविधानसभाका सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मिस्टर सगरमाथा तथा बेस्ट इभेन्ट कोरियोग्राफर अर्शु महर्जन , फेसन डिजाइनर बिबेश राई र मोडल तथा फेसन डिजाइनर गीत बस्नेत निर्णायक रहेका थिए ।
पीसीएस प्रोडक्सन इन्टरटेनमेन्ट हाउस २०७७ मा स्थापना भएको हो । पूर्वको एक अग्रणी संस्थाको रुपमा रहेको पीसीएसले हालसम्म ८ वटा सौन्दर्य प्रतियोगिता र थुप्रै सहकार्यात्मक कार्यक्रमहरू सफलता साथ सञ्चालन गरिसकेको म्यानेजिङ डाइरेक्टर चेतनसिंह बस्नेतले बताए । उनले आगामी कार्यक्रमको रुपमा मिस्टर एण्ड मिस मोडल आइकन – २०२५ र पूर्वाञ्चल लिटल राइजिङ स्टार –२०२५ गर्न लागिएको जानकारी दिएका छन् ।