झापा, असार १७ । भारतबाट मलद्वारमा ब्राउनसुगर लुकाएर ल्याउने तीनजना भद्रपुरमा पक्राउ परेका छन् ।

आज साँझ ६.१० बजे भद्रपुर –५ स्थित मेची बिटमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री बुद्धशान्ति –४ जुनेली बस्ने २९ वर्षीय दिपक सम्बाहाम्फेलाई शंका लागेर चेकजाँच गर्दा उनले मलद्वारभित्र प्लाष्टिकको पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको ब्राउनसुगर फेला परेको हो ।
३ ग्राम ३१० मिलिग्राम ब्राउनसुगरसहित सम्बाहाम्फेलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ । थप अनुसन्धान तथा कानुनी कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय पठाइने जनाइएको छ ।
त्यस्तै आज दिउँसो १२;१० बजे भद्रपुर –५ स्थित राजन चोकमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री कमल –५ पाडाजुँगी बस्ने २० वर्षीय पिजल धिमाल र कमल–२ बस्ने ३२ वर्षीय केशब राईलाई शंका लागेर चेकजाँच गर्दा मलद्वारभित्र प्लाष्टिकको पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको प्लाष्टिकसहित ३ ग्राम १० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । ती दुईजनालाई पनि नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ ।