झापा, असार १८ । ताप्लेजुङमा पहिरोले घरमा क्षति पुर्याउँदा एक महिला घाइते भएकी छन् ।

आज बिहान राति अन्दाजी १ बजे ताप्लेजुङ सिदिङ्वा गाउँपालिका – ३ खिर्लाबोटे बस्ने ६१ वर्षीय हस्तबहादुर कटुवालको घरमा पहिरोले क्षति गरेको हो । अन्दाजी १० मिटर माथिपट्टिको कान्लाबाट झरेको पहिरोले ढुङ्गा, माटो र टिनले छाएको कटुवालको ३ तले कच्ची घरमा क्षति पुगेको हो ।
सोही वडाका वडा अध्यक्ष रत्नबहादुर खत्रीले आज बिहान टेलिफोनमार्फत प्रहरी चौकी साब्लाखुमा जानकारी गराउनसाथ प्रहरी सहायक निरीक्षक प्रदिपकुमार विष्टको कमाण्डमा प्रहरी टोली खटिएको छ । कटुवालकी श्रीमती ६० वर्षीया ठगमाया कटुवाल पहिरोका कारण घाइते भएकी छन् । उनको छाती र टाउकोमा चोट लागेको छ । उनलाई उपचारको लागि सुविधासम्पन अस्पताल लैजाने तयारी भइरहेको छ ।
पहिरोको कारण घरमा रहेको लत्ताकपडा, अन्नपात, कागजपत्र क्षति भएको छ । पहिरोले अन्दाजी ३ लाख ३३ हजार बराबरको क्षति भएको अनुमान गरिएको छ । कटुवालको परिवारमा ५ पुरुष र २ महिला रहेका छन् । हाल कटुवालको परिवार आफ्नै अर्को घरमा बसेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।