झापा , असार १८ । झापाको शिवसताक्षीमा कुटपिटबाट घाइते भएका दुवै युवकको मृत्यु भएको छ ।

यसअघि शिवसताक्षी नगरपालिका ९ बस्ने १९ वर्षीय रोमन थापाको मृत्यु भएकोमा संगम चोकका १५ वर्षीय आदित्य तामाङको पनि मृत्यु भएको छ । बुधवार दिउँसो १ः४५ बजे आदित्य तामाङको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव सोही अस्पतालमा रहेको छ ।

प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा शिवसताक्षी ११ बस्ने इन्द्र मगरका छोरा बर्ष– १५ का सोइमन मगर , सोही ठाउँ बस्ने डम्बर राईका छोरा बर्ष– १४ का आयुस राई , वडा नं ९ बस्ने रामप्रसाद लिम्बूका छोरा बर्ष–१४ का सलिम लिम्बू , सोही ठाउँ बस्ने प्रकाश लिवाङका छोरा बर्ष– १४ का आदित्य लिवाङ , प्रकाश लिम्बुका छोरा बर्ष– १३ का नामकेत लिम्बू र बालकृष्ण सिलवालका छोरा बर्ष– १५ का अङ्कुश सिलवाल रहेका छन् ।

कुटपिटमा संलग्न पाँच जनालाई सोमवार राति नियन्त्रणमा लिइएको थियो भने फरार रहेका अङ्कुश सिलवाललाई खोजतलास गर्ने क्रममा हिजो बिहान ८ बजे उनको घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

असार ११ गते बिहान अन्दाजी ६ः४० बजे शिवसताक्षी ९ संगम चौक बस्ने अमर तामाङका छोरा राष्ट्रिय रमणीय मा.वि.दुधेमा कक्षा ८ मा अध्ययनरत आदित्य तामाङ स्कुलबाट ट्युसन पढेर घरतर्फ फर्कदै गर्दा ध्रुबतारा बोर्डिङ स्कुल दुधेमा अध्ययनरत आयुस राई समेत ६ जनाले वडा नं ११ स्थित प्लटिङमा बोलाई कुटिपट गरेका थिए । घाइतेलाई बीएण्डसी अस्पताल लगिएको थियो । बीएण्डसी अस्पतालमा उपचारका क्रममा आदित्यको मृत्यु भएको हो ।

कुटपिट गर्नेहरुलाई पक्राउ गरी आवश्यक कारबाही गरि पाउँ भनी आदित्यका आफन्तले सोमवार लिखित निबेदन दिनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली खटिएर कुटपिटमा संलग्नहरुलाई पक्राउ गरेको थियो । यसअघि कुटपिटबाट घाइते भएका शिवसताक्षी ९ बस्ने १९ वर्षीय रोमन थापाको असार १४ गते बिहान मृत्यु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्