झापा , असार २० । भद्रपुरकै उत्कृष्ट विद्यालयको रुपमा परिचित ग्यालेक्सी इङ्गलिस स्कुलले शैक्षिक सत्र २०८२ देखि कक्षा ११ सञ्चालन गर्ने भएको छ ।

२०८१ सालको एसईईमा नगरमै उत्कृष्ट नतिजा ल्याउन सफल ग्यालेक्सीले यसै शैक्षिक सत्रबाट कक्षा ११ मा कम्प्युटर साइन्स तथा बिजनेस स्टडिज विषयमा व्यवस्थापन संकायको कक्षा सञ्चालन गर्न लागेको हो ।
विद्यालयस्तरको कक्षा १० तथा एसईई तहसम्मको उत्कृष्ट नतिजा र व्यवस्थापनपश्चात् प्लस टु कार्यक्रमका लागि आवश्यक पूर्वाधारहरुको पूर्ण व्यवस्थापनपछि समयसापेक्ष शिक्षाको माग र भाबी मानव संशाधनको आवश्यकताका लागि अहम योगदान पुर्याउने उद्देश्यले कक्षा ११ शुरु गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
विद्यालयको संरचनाभित्रको विद्यालय तहको पाँचौ तहअन्तर्गत पर्ने कक्षा ११ र १२ मा विषयगत अनुभवी तथा दक्ष शिक्षकहरुको प्रविधिमा आधारित सिकाई सहजीकरणका साथै खेल प्रशिक्षक नृत्य तथा गायन प्रशिक्षक लगायत अतिरिक्त क्रियाकलापका लागि विद्यार्थीमा समग्र दक्षता हासिल गराउने लक्ष्य रहेको संचालकहरुले बताएका छन् ।
सोही कार्यक्रममा एसईईमा ग्रेडेड विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । उत्तीर्ण विद्यार्थीहरुलाई एक वर्ष निःशुल्क अध्ययनको व्यवस्था मिलाएको बताइएको छ । एसईईमा ९२ प्रतिशत नतिजा ल्याएको ग्यालेक्सीबाट २३ जनामध्ये २१ जना विद्यार्थी ग्रेडेड भएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विमल अग्रवालको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा सञ्चालकहरु सुनिल घिमिरे, देव गोयल, रोनक वंशललगायतले विद्यार्थीलाई सम्मान गरेका थिए । विद्यालयका शिक्षक देवीप्रसाद सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका भाइस प्रिन्सिपल विवेक चम्लागाईंले गरेका थिए । २०७४ सालदेखि नयाँ व्यवस्थापनले सञ्चालन गर्दै आएको ग्यालेक्सी भद्रपुर नगरको उत्कृष्ट र सफल विद्यालय हो । प्याब्सन तथा अन्य प्रतियोगिताहरुमा उत्कृष्ट नतिजा निकाल्दै आएको छ । विद्यालयमा फुटबल, क्रिकेट, भलिबल, बास्केटबलका लागि आफ्नै खेलमैदान रहेको विद्यालयका सञ्चालक सुनिल घिमिरेले बताए ।
विद्यालयमा स्काउटका साथै नृत्य र संगीतका कक्षाहरु सञ्चालनमा रहेका छन् । हालै सम्पन्न कक्षा ५ र ८ को रिजल्टमा भद्रपुर नगरकै उत्कृष्ट नतिजा ल्याउन सफल ग्यालेक्सीमा भौतिक रुपमा सुविधासम्पन्न भवन र कक्षाकोठा रहेको सञ्चालक चम्लागाईंले बताए ।
साढे छ बिघा क्षेत्रफलमा रहेको विद्यालयमा विद्यार्थीको सुविधाका लागि प्रत्येक कक्षाकोठामा एसी जडान गरिएको छ । प्रिपाइमेरीका लागि छुट्टै खेल्ने ठाउँको व्यवस्था गरिएको छ ।
बालमैत्री वातावरणमा पढाइ हुने विद्यालयले विद्यार्थीको सुविधाको लागि मेचीनगरका धाइजन, चारआली, ज्यामिरगढी र धुलाबारीसम्म बसको व्यवस्था गरेको छ । त्यस्तै, भद्रपुरका चन्द्रगढी र ज्ञानेचोकसम्म विद्यालयको बस जाने आउने गरेको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले विद्यालयलाई थप शैक्षिक सफलताको शुभकामना दिएका थिए ।