झापा,असार २३ । उपभोक्ता अदालतको फैसलाविरुद्ध नेपाल चिकित्सक संघ आन्दोलनमा उत्रिएको छ ।

संघको आह्वानमा सोमबार मुलुकभरका स्वास्थ्य संस्थामा इमर्जेन्सीबाहेक अन्य सम्पूर्ण सेवा बन्द गरेका छन् ।
उपभोक्ता अदालतले तीन अस्पताल र चिकित्सकलाई क्षतिपूर्तिको फैसला गरेको थियो । अदालतले गत असारमा महिलाले उपचारमा लापर्बाही भएको भन्दै गरेको उजुरीमा ग्रान्डी सिटी अस्पताल र चिकित्सकलाई ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।
चाबहिलस्थित ओम अस्पताललाई ५० लाख ७० हजार रुपैयाँ र उपचारमा भएको लापर्बाहीको मुद्दामा चिकित्सकलाई ६ लाख १० हजार रुपैयाँ तिराउन आदेश दिएको थियो । त्यस्तै उपचारमा लापर्बाहीका कारण बिरामीको मृत्यु भएको ठहर गर्दै हिमाल हस्पिटल र बिरामीको उपचारमा संलग्न चिकित्सकलाई दोषी ठहर गर्दै अस्पताल र चिकित्सकले १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको थियो ।
अस्पताललाई ७० प्रतिशत र उपचारमा संलग्न चिकित्सकले ३० प्रतिशत क्षतिपूर्ति तिर्नुपर्ने गरी फैसला भएको थियो । अदालतको फैसलाविरुद्ध संघले चरणबद्ध रुपमा आन्दोलन गर्दै आइरहेको छ । संघले असार २३ गते सोमबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा बन्द गर्ने मात्र नभई २४ गते मंगलबार चिकित्सकहरूले नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र काउन्सिलमा बुझाउने जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्