भद्रपुर, असार २४ । भद्रपुरमा ब्राउनसुगर कारोबारी पक्राउ गर्न प्रहरीले गोली प्रहार गरेको छ ।

गोली प्रहारबाट एकजना कारोबारी घाइते भएका छन् । प्रहरीले गोली प्रहार गरी दुईजना कारोबारीलाई पक्राउ गरेको हो ।
साँझ ५ः२० बजे भद्रपुर –७ चिया पसलनजिक हुलाकी राजमार्गमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक बिजय चौहान र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट प्रहरी नायव निरीक्षक कुमार सोमेश लामिछाने समेतको ७ जनाको संयुक्त टोलीले बिशेष सूचनाको आधारमा शंकास्पद रुपमा रहेको अवस्थामा चेकजाँच गर्न खोज्दा प्रहरीमाथि हातपात गरी भाग्न खोजेपछि नियन्त्रणमा लिनको लागि चाईनिज ठुलो तथा सानो पेस्तोलवाट ३÷३ गरी जम्मा ६ राउण्ड गोली फायर गरेको बताइएको छ ।
भारत बिहार राज्य, किशनगञ्ज जिल्ला बस्ने बर्ष ३५ का मनिसुर आलमको साथबाट २ वटा प्लाष्टिकको पोकामा प्लाष्टिकबाहेक १०३ ग्राम ७० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ ।
त्यस्तै कचनकवल गाउँपालिका –५ बस्ने बर्ष ५५ का नशुरुद्धिन मियाको साथबाट २ वटा प्लाष्टिकको पोकामा प्लाष्टिकबाहेक १०२ ग्राम १० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ ।उनको दाहिने खुट्टाको पिड्युँलामा एक राउण्ड गोली लागेको छ । सामान्य घाइते भएका मियालाई ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा सामान्य उपचार गरिएको छ । कुल जम्मा प्लाष्टिकबाहेक २०५ ग्राम ८० मिलिग्राम ब्राउनसुगरसहित दुवैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।