भद्रपुर, असार २५ । भद्रपुरमा गोली प्रहार गरी पक्राउ गरिएका दुई ब्राउनसुगर कारोबारीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत बिहार राज्य, किशनगञ्ज जिल्ला बस्ने बर्ष ३५ का मनिसुर आलम र कचनकवल गाउँपालिका –५ बस्ने बर्ष ५५ का नशरुद्धिन मिया रहेका छन् ।

हिजो साँझ ५ः२० बजे भद्रपुर –७ चिया पसलनजिक हुलाकी राजमार्गमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक बिजय चौहान र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट प्रहरी नायव निरीक्षक कुमार सोमेश लामिछाने समेतको ७ जनाको संयुक्त टोलीले शंकास्पद रुपमा रहेको अवस्थामा चेकजाँच गर्न खोज्दा प्रहरीमाथि हातपात गरी भाग्न खोजेको भन्दै नियन्त्रणमा लिनको लागि चाईनिज ठुलो तथा सानो पेस्तोलवाट ३÷३ गरी जम्मा ६ राउण्ड गोली फायर गरेको थियो ।

गोली प्रहारबाट एकजना कारोबारी घाइते भएका छन् । प्रहरीले आलमको साथबाट २ वटा प्लाष्टिकको पोकामा प्लाष्टिकबाहेक १०३ ग्राम ७० मिलिग्राम र मियाको साथबाट २ वटा प्लाष्टिकको पोकामा प्लाष्टिकबाहेक १०२ ग्राम १० मिलिग्राम ब्राउनसुगर बरामद भएको जनाएको छ ।

मियाको दाहिने खुट्टाको पिड्युँलामा एक राउण्ड गोली लागेको छ । सामान्य घाइते भएका मियालाई ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा सामान्य उपचार गरिएको छ । कुल जम्मा प्लाष्टिकबाहेक २०५ ग्राम ८० मिलिग्राम ब्राउनसुगरसहित दुवैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्