झापा, असार २८ । झापाको बिर्तामोड डेंगुको ‘हटस्पट’ नै बनेको छ ।

जिल्लामा हेर्ने हो भने अधिकांश डेंगु संक्रमित बिर्तामोडकै रहेका छन् । पछिल्लो तथ्यांक अनुसार डेंगु संक्रमणबाट जिल्लाभरि ७५ जना संक्रमित छन् । त्यसमध्ये ६८ जना बिर्तामोडका हुन् । त्यस्तै गौरादहका ६ र दमकका एकजना छन् ।
गत साता बिर्तामोडका ४८ , दमकका १ र गौरादहका ६ गरी ५४ जना डेंगु संक्रमित रहेका थिए । डेंगु संक्रमितहरुको संख्या दिन प्रतिदिन बढिरहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन युवनाथ बरालले बताए ।
गत साता झापामा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु भएको थियो । बीएण्डसी अस्पतालमा उपचाररत शिवसताक्षीकी ११ वर्षीया सुरविरा राईको मृत्यु भएको हो । गत वर्ष झापामा डेंगु संक्रमणबाट दुई जनाको मृत्यु भएको थियो ।
मनसुन सुरू भएसँगै झापामा डेंगु संक्रमितको संख्या बढ्न थालेको छ । डेंगु सबैभन्दा बढी असार, साउन, भदौ र असोजसम्म रहने देखिन्छ । तर, झापामा बाह्रै महिना डेंगु देखिने गरेको छ । डेंगु नियन्त्रणका लागि विभिन्न कार्यक्रमहरु संचालन हुँदै आएको छ ।