वीरु दर्नाल

बिर्तामोड । महेन्द्र रत्न माध्यमिक विद्यालयका पूर्व विद्ययार्थी रुपक गोदार थापा पूर्व विद्यार्थी समाजको नियमित बैठकका बेला विद्यालय परिसरमा घुम्दै थिए । विद्यार्थीहरु पानी पिउन आएका बेला उनले हठात् सुने – आत्था कस्तो तातो पानी । एक विद्यार्थीको उक्त आवाज सुनेपछि थापा आफ्नो विद्यार्थीकालमा पछाडी फर्के । त्यो बेलाको पिउने पानीको असुबिधाले गर्दा हरेक टिफिन , ब्रेकमा बिद्यालय बाहिर रहेको अभिभावक शम्भु पोखरेलको इनार , स्कुल पछाडी रहेको बुढाथोकी बाको घरको इनार नै काफी थियो पानी पिउन ।
एक विद्यार्थीको असहज आवाजले थापाको कानमा गुन्जिदै भित्री मनमा छोयो ।उनले मनन गरेर एउटा प्रशोधित पानीको धारा जडान गर्न सके कसो होला ? आफैलाई प्रश्न गरे ।
घर पुगेर आमा विणादेवीलाई समस्या सुनाए । आमाले हुन्छ गर्नु भन्ने सल्लाह दिएपछि थापा त्यस कामको लागि जुटे ।यो कुरा पूर्व विद्यार्थी समाज र विद्यालय प्रशासनसमक्ष राखे । दुवै संस्थाले सहमति जनाए ।
थापाले सोंचेको एक महिनाभित्रैमा अत्याधुनिक प्रशोधित चिसो तातो पानीको धारा विद्यालयमा जोडिदिए । पाँच लाख मूल्यको ६०० लिटर क्षमताको २४ सै घण्टा उपलब्ध हुने उक्त धारा विद्यालयमा पहिलो पटक जडान भएकोमा पूर्व विद्यार्थी समाजका अध्यक्ष हाल अमेरिकामा रहेका राजकुमार पोखरेलले खुशी ब्यक्त गरे ।
विद्यालय स्थापनाकालका ब्यवस्थापन समितिका संस्थापक सचिव स्वर्गीय जय प्रतापजंग थापा र उनकी छोरी स्वर्गीय संगीता थापा बस्नेतको पुण्य स्मृतिमा उक्त धारा जडान गरिएको माईला छोरा रुपकले बताए ।
स्वर्गीय थापाकी श्रीमती विणादेवी थापाले यही असार २६ गते बिहीबार सम्पन्न गुरु पूर्णिमाको अवसरमा आयोजित कार्यक्रममा उक्त धाराबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचरण शिवाकोटीलाई चिसो पानी खुवाएर उद्घाटन गरिएको छ । थापा परिवारका गुन्जन , रुपक र दिपक थापाको संयुक्त लगानीमा उक्त धारा जोडिएको हो ।

नमूना विद्यालय रहेको महेन्द्र रत्न माविको अर्को नयाँ भवन बिर्तामोड ५ स्थित कन्चनजंघा टोलमा रहेको छ । उक्त क्षेत्रमा कम्पाउण्ड वाल निर्माणपछि त्यहाँका विद्यार्थीहरुको सुबिधाको लागि समेत यही प्रविधिको धारा जडान गरिदिने थापाले बताए ।
पूर्व विद्यार्थी समाजका संस्थापक सदस्य रुपक थापाको पहलमा जडान गरिएको यस धाराबाट बिद्यार्थीहरुले मौसम अनुसारको शुद्ध पिउने पानी खान पाउने अवस्थाको ब्यवस्था गर्न पाएकोमा समाज र विद्यालयको सम्बन्धमा थप टेवा पुगेको कार्यबाहक अध्यक्ष मदनगोपाल सुब्बाले बताए ।
यस्तै पहिलो पटक बिद्यालय परिसरमा सुविधा सम्पन्न पानीको धारा जडान गर्न सफल भएकोमा दाता थापा परिवार र पूर्व विद्यार्थी समाजप्रति प्रधानाध्यापक खड्गप्रसाद खरेलले आभार ब्यक्त गरेका छन् ।