झापा,असार २८ । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राज्यले ज्यादती गरेको बताएका छन् ।

शनिबार चीनको भ्रमण सकेर स्वदेश फर्किएका उनले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले लामिछानेले गल्ती र कमजोरी गरेकै छैन भन्न आफूले नसक्ने पनि बताए । ’तर पनि लामिछानेमाथि यो वा त्यो गल्ती भयो भन्ने नाममा राज्यले ज्यादती गरिरहेको छ,’ उनले भने ।
‘मलाई पनि के लाग्छ भने रवि लामिछानेले गल्ती, कमजोरी गरेको छैन भनेर म कसरी पुष्टि गरौँ र । तर रवि लामिछानेमाथि यो वा त्यो गल्ती भयो भन्ने नाममा राज्यले ज्यादती गरिरहेको छ भन्ने मलाई पनि महसुस छ,’ पूर्वप्रधानमन्त्री खनालले भने ।
सहकारी ठगी प्रकरणमा अदालतले थुनामा पठाउन आदेश दिएसँगै लामिछाने अहिले थुनामा छन् ।