विगत असार १४ गते राष्ट्रिय सभामा मदन भण्डारी फाउण्डेशनको भव्य कार्यक्रम भयो । सभाकक्ष बाहिर समेत एमाले नेता र कार्यकर्ताको उल्लेखनीय सक्रिय सहभागिता थियो । सभाको प्रमुख आकर्षण विद्या भण्डारी थिइन् । प्रथम महिला राष्ट्रपति विद्या भण्डारीले एमालेको सक्रिय राजनीतिमा प्रवेश गरेको घोषणा गरिन् । विद्या भण्डारीमय सभा माहौल देखेर कोही कोही अताल्लिएको तिनका अभिव्यक्तिबाट थाहा भयो । तर उक्त सभामा उपस्थित तमाम निराश नेता र कार्यकर्ताहरुमा नौलो आशा र भरोसा सञ्चारित भएको देखिन्थ्यो ।

यससँगै पार्टीमा दाहिने र देब्रे ÷डेब्रा नेता देखापरेका छन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विवेकलाई बन्धक राखेर मन्तव्य दिएनन् । विद्या भण्डारी सक्रिय राजनीतिमा आउने चर्चासँगै तिल्मिलाएका उपरवालालाई सैद्धान्तिक र वैचारिक तथा तर्कपूर्ण जवाफ दिए । उनले मन र इमानको बोली बोले, ओठ मात्र चलाएनन् । उनी सतही रुपमा हेर्दा विद्या भण्डारीका दाहिने हात भएर देखा परे । तर ईश्वर पोखरेलले जबजको जनवादी ÷ लोकतान्त्रिक मर्म, महत्व, सार र अन्तर्य अभिव्यक्त गरेका थिए । पोखरेल आफ्नो मेरो घर कवितामा अभिव्यञ्जित भाव र जबजको प्रकाशमा अग्रगमन गर्ने कुरामा अडिग देखिन्थे । पार्टीका उपाध्यक्षसहित उपल्ला तहका अधिकांश नेताले बोल्ने अवसर पाएका भए पार्टीभित्र सङ्गालिएको चरम विसङ्गतिको पोको खोल्नै नै थिए ।

तर पोखराका अधिकारी थरि स्थायी समिति सदस्य लगायत एकाध ओठेभक्तहरुले जननेता मदन भण्डारी र विद्या भण्डारीको परोक्ष वा प्रत्यक्ष मानमर्दन गरेको देख्दा तिनीप्रति दया लागेर आयो । सिद्धान्तका निर्माणका सबालमा ताली पिट्ने हैसियतका ती अधिकारी थरि नेताले जबजको प्रतिपादनमा मेरो पनि कम महत्वपूर्ण भूमिका छैन भनेको सुन्दा लाजै लजायो । यस्तै कृतघ्न चरित्रका एकाध नेता अरु पनि देखिँदैछन् । २०५० जेठ ३ गते पोखराको अन्तिम सम्बोधनमा जननेता मदन भण्डारीले एमाले संगठन,नेता, कार्यकर्ता टुल्स ÷ औजार मात्र किमार्थ बन्न हुन्न भनेका थिए । उनले सैद्धान्तिक,संगठनात्मक,सिर्जंनात्मक तथा कुनै न कुनै सामान्य प्राविधिक ज्ञानयुक्त संगठक अपरिहार्य रहेको कुरा सुझाएका थिए । मदन भण्डारीले सामन्तवादी संस्कार र संस्कृतिलाई कलात्मक हस्तक्षेप गरी सुधारात्मक आन्दोेलन सञ्चालन गर्न चाहन्थे । अहिले त पार्टी संगठन र कार्यकर्ता र नेतालाई महाराजका सेवाका निमित्त बनाइएका काँटा,चम्चा बनाउन खोजिएको छ । आफ्नो अति सामान्य विवेकलाई बन्धक बनाएर कमरेड महाराजको जुनसुकै आदेश तिनले हुबहु पूरा गर्नुपर्छ ।

पार्टी र नेतृत्वलाई सुझाउ स्वरुप लेख लेख्दा पनि खप्की खानु परेको छ । मेरै लेखहरु अनलाइन र छापा पत्रिकामा प्रकाशित नगर्न पत्रिका गृहलाई एकाध नेताले दवाव दिएको थाहा भएको छ । पार्टी महासचिवले आयोजना गरेको जुम बैठकमा कोशी प्रदेशका इन्चार्ज आफैँले जनवर्गीय वा मोर्चा संगठनले पार्टीलाई नटेरेको गुनासो गरे । यसले पार्टी संगठनको अस्तव्यस्त अवस्था जाहेर हुन्छ । यो अवस्था अहिले सुध्रिने अवस्था देखिन्न ।

श्री ५ बडा महाराजा पृथ्वी नारायण शाह बिसे नगर्चीको सल्लाह लिन्थे । तर अहिले जबज सिद्धान्तका प्रणेता र प्रखर व्यक्तित्वलाई उच्च गरिमामय भारी सभामा गम्भीर कटाक्ष गरिन्छ । अनि उनका ओठहरु उनकै लोली र बोलीमा ट्याउँट्याउँ गर्न थालेका देखिन्छन् । आगामी महाधिवेशनमा नेतृत्व हत्याउन अनेक पञ्च प्रपञ्च गर्नेहरु पार्टी र सिद्धान्तको लेपन लगाएर सोझासिधा कार्यकर्तालाई कुहिराको काग बनाउन लागिपरेका छन् । हाम्रा पुर्खाहरु आमालाई गुरुकी पनि गुरु महागुरु÷ गुरुआमाका रुपमा सम्मान गर्थे ।जस्तै (उपाध्यायान् दशाचार्य आचार्याणम् शतं पिता, सहस्रं तु पितृन् माता गौरवेणाति रिच्यते ) अहिले आमाकै अगाडि दुर्वाच्य बोल्न थालिएको देखिन्छ ।

मोरङ जिल्लाको तत्कालीन साझा सहकारी काण्डका विषयमा मदनले दर्शन उर्फ घनश्याम भट्टराईलाई कार्वाही गरेको बुझीबुझी किन मदनलाई लाञ्छित गरिन्छ ? कुराले घोप्नेहरुले छुरा पनि चलाउन सक्छन् भन्ने कुरा माओको जीवनका घटनाबाट पनि थाहा हुन्छ । जननेता मदन भण्डारीलाई मैले महासचिव बनाएको भन्ने सवालको जवाफ ईश्वर पोखरेलले नबोली नै दिए । ईश्वर पोखरेल,प्रदीय नेपाल र मुकुन्द न्यौपाने लगायत नेता दाहिना भएकैले कमरेड के.पी.शर्मा ओली नवौँ महाधिवेशनमा पार्टी अध्यक्ष हुन पाएका थिए । तर ईश्वरले म र मैले अध्यक्ष बनाएको हो भनेर कहिल्यै फुर्ती लगाएनन् । मदनलाई महासचिव बनाउनेले मदनको सुरक्षार्थ व्यवस्था र बन्दोबस्त गर्नुपर्छ भनेर पार्टी बैठकमा उच्चारण गरेको सुनिएन । नेता केशव बडालले बरु मदनको सुरक्षाको राम्रो प्रवन्ध गर्नुपर्छ भनेर बैठकमा राखे । यो कुरा उनीद्वारा लिखित कृति सिंहावलोकन ( पृ.८० ) मा पढ्न पाइन्छ । नेकपा एमालेमा तीन थरि नेता छन् ।

पहिलो थरि पार्टीमा कमजोरी नहोस् भनेर बेलैमा गम्भीर पहल गर्छन् । अर्काथरि कमजोरी देखिएपछि त्यसको उपचारमा भरमग्दुर प्रयत्न गर्छन् र तेस्रा थरिहरु जता मल्खु उतै ढल्कु गर्छन् र नितान्त निजी स्वार्थसिद्ध गर्ने ध्याउन्नामा लाग्छन् र हरदम मौकाको ताकमा हुन्छन् । अहिले एमाले पार्टी देशव्यापी रुपमा भित्रभित्रै धमिराले ध्वस्त हुन लागेको छ । जबजको सार सौन्दर्य अनुसार काम नगर्दाको यो परिणाम हो । यो अदना लेखकले देशैभरिका गुप्तगु षडयन्त्र थाहा पाएको छ भने माथिबाट हेर्दा पार्टीभित्र के कति विकृति होलान् ? विद्या भण्डारीकै भनाइ अनुसार पार्टीभित्रको लामो समयको अनुभवबाट आफू लगायत नेताले धेरै सिकेको बताएकै छिन् । अर्थात् पार्टीभित्र कस्ताकस्ता खालका खेलखाल,जेलझाल र षडयन्त्र हुन्छन् भन्ने भण्डारीले आफैँले थाहा पाएको बताइन् ।

पार्टी केन्द्रको सचिवालयमा भावी अध्यक्षका बहुप्रचारित दाबेदारले विद्यालाई सक्रिय राजनीतिमै आउन नदिने प्रावधान विधानमा राख्न जोडबल गरेको कुरो त खुलस्त नै भयो । यो खुल्ला समाज हो । गोप्यतम कुरा पनि खुल्छ र खुल्नुपर्छ । बेलैमा खुल्यो र खुलाइयो भने कोही पनि टोपबहादुर बन्दैन, कसैले पनि माकुने हुन पाउँदैन । जमदग्निका टाउकाले जबज बेचेर पनि आफ्नो शान र मानको पगरी गुथ्न पाउँदैन । ।

त्यसैले जननेता मदन भण्डारीले जनताको पार्टी एमालेलाई जनताले देख्न, सुन्न,बुझ्न, छाम्न र महसुस पाइने बनाउनु पर्छ भनेका हुन् । पार्टीका नाममा गुप्तगु षडयन्त्र र तिकडम्बाजी गर्ने कुराको भण्डारीले सख्त विरोध गरेका हुन् । उनले राम्रो काम राम्रै तरिकाले गर्नुपर्छ भन्नुको सार पनि त्यही हो । साधुले सबैलाई साधु देख्छ । एकोहोरो र साह्रै सोझो साधु हुँदा चोरले पार्टीमा चौतारो बनाउन बेर लगाउँदैन । विद्या भण्डारीले समयको पदचाप बुझेर आफू सक्रिय राजनीतिमा आउन बाध्य भएको बताएकी हुन् । पदचापका लाक्षणिक र व्यञ्जनार्थ हुन्छ । तर अहिले त खुल्लम खुल्ला विद्या भण्डारीलाई सक्रिय राजनीतिमा आएपनि अनेक कल,छल र बल गरेर मियोका रुपमा उभ्भिनै नदिने षडयन्त्र भइरहेको देखिन्छ । नत्र महाधिवेशन अघि नै स्वार्थी तत्वहरु भाँडभैलो गरिरहेका छन् भने कोहीकोही पार्टी अध्यक्ष हुन खोज्दैछन् भन्दै तिनलाई ठेगान लगाउने निर्देशन दिनु पर्ने थिएन ।

यसरी न्यून चेतका युवा विद्यार्थीलाई जिम्मेवार नेताले उचाल्नु पर्दैथ्यो । विद्या भण्डारी कुनै पद, प्रतिष्ठा र उच्च ओहदाको चरम आकांक्षी होइनन् भन्ने कुरा पुष्टि हुन्छ । उनले अलि पहिले पार्टी उपाध्यक्ष रहेकी आफूलाई राष्ट्रपति बनाएपछि पार्टीको नेतृत्व निर्माण अनुकूल हुने आकलन गरेको बताएकी थिइन् । खै त फाउण्डेशन लगायतका कार्यक्रमहरुमा पार्टीं अध्यक्षका गुणको विद्याले भित्री ह्रदयबाट तारिफ नै गर्ने गरेको देखिन्छ । तर त्यस गरिमामय गोष्ठीमा अध्यक्षको प्रस्तुतिबाट आम नेता र कार्यकर्ता दुःखित देखिएका छन् । विद्या भण्डारी पार्टी र नेतृत्वका हरकतबाट दुःखित भएको उनको अभिव्यक्तिका क्रममा प्रकट भयो । उनी बोल्दा बोल्दै भावुक बनिन् र भक्कानिइन् । सरदरले विद्या प्रिय पतिको सम्झना भन्ने मात्र सम्झे होलान् तर यति निष्कलङ्क देश र जनताका सर्वोपरि हितमा केवल सेवा भावले प्रतिबद्ध सिद्धान्तका प्रणेता मदनलाई आजका दिनमा पनि नकारात्मक दृष्टिकोण राखेको सुनेर र बुझेर विद्या भण्डारी अत्यन्त भावुक भएकी हुन् ।

निर्दोष र निरपराधमाथि अत्याचार हुँदा दुःखित हुने मानिस यस धर्तीमा छन् । गहन ज्ञान र उच्च स्तरको विद्वत्ताभन्दा विवेक महान् हो भनेर हजारबार बखान गर्नेको विवेक हराउन लागेको देख्दा यो लेखक आफैँ भारी सरममा परेको छ । कुनै पनि खाले आश त्रासमा नपरी बोल्नेहरुले बोल्छन् । र आवश्यक पर्यो भने असाध्य रोग निवारण गर्नेगरी पनि बोल्छन् । आन्दोलनका रक्षा कवचहरु बोलाको बोली र मौकाको काम गर्छन् । स्वार्थका भकारीहरु जोखाना हरेर बस्छन्, धार्नीको टाउको मात्र हल्लाउँछन् । एमालेमा हाल क्रिया र प्रतिक्रियाविहीन पशुवत् मित्रमण्डली तयार गर्न खोजिएको देखिन्छ । अलि कति पनि सुझाव सल्लाह दिन खोजियो भने कार्बाहीको भागीदार बन्नु पर्ने स्थिति रहेको छ । विद्याले आफ्नो व्यक्तिगत महत्वाकांक्षा छैन । पार्टीभित्रका अनेक उतार बढाव र गुप्तगु गतिविधिबाट आफू जानकार रहेको र परिपक्व भएको विद्या भण्डारीले मन्तव्यका क्रममा बताइन् । उनले जबजको सार तत्व उल्लेख गरिन् । त्यो सामाजिक सांस्कृतिक रुपान्तरणको गम्भीरतम सबाल हो । यसमा चरम बेवास्ता गर्दा सामन्तवादी सांस्कृतिक माहौलमा पार्टी फसेको हो ।

विद्याले अहिले आंशिक र मात्रात्मक उपलब्धि हासिल भएका छन् भन्दै चुरो भनेको रुपान्तरण हो र यसका अभावमा सतिसाल ढल्नु स्वाभाविक हुन्छ । यही दुरगामी ध्येय र उद्धेश्य राखेर मात्र विद्या भण्डारी सक्रिय राजनीतिमा आउन बाध्य भएकी हुन् । विद्याका अनुसार सतही कुरामा मख्ख पर्ने हो मदनको सपना, सामाजिक सांस्कृतिक रुपान्तरणको प्रक्रिया सफल पार्ने उद्धेश्यले बाटो बिराउनेछ । विद्याको उद्धेश्य उच्च ओहदा आयआर्जन उपार्जनमा मात्र मख्ख पर्ने होइन,उनले मदनको निष्ठा, समर्पण,वैचारिक स्पष्टता, र जनउत्तरदायी व्यवहार,गुणहरुको. अनुशरण गर्ने कुरालाई खास ख्याल नगरेमा विद्याको. असन्तुष्टि देखिन्छ । त्यसैले उनले कुरा र काम तथाम ,नारा र नतिजा बीचको अन्तर घटाउने, भविष्यप्रति जनताको विश्वास सुदृढ पार्ने,अभियानमा कटिबद्ध हुनु पर्ने मन्तव्यमा उल्लेख गरिन् । विद्याका अनुसार सामान्य सुधार मात्र गरेर हुन्न गुणात्मक परिवर्तनलाई पनि सँगै लैजानु पर्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्