
आजको व्यस्त संसारमा हामी प्रायः आफ्नो मातृभूमिका नामहरूमा लुकेका अनगिन्ती कहानीहरूलाई बिर्सिन्छौं । ठाउँको नाम केवल एक शब्द मात्र नभएर यसमा इतिहास, संस्कृति, भूगोल र मानिसहरूको जीवनशैलीको अमूल्य सम्पत्ति लुकेको हुन्छ । हरेक नामको पछाडि कुनै न कुनै कथा छ जसले हामीलाई हाम्रो अतीतसँग जोड्छ । यी कथाहरू हाम्रो सभ्यताका जीवन्त दस्तावेज हुन् ।
यस्तै एउटा छ, अद्भुत नाम समेटेर बसेको झापा जिल्ला शिवसताक्षी नगरपालिकाअन्तर्गत पर्ने दूधे बजारको । “दूधे कैंजले” भन्ने नामको पछाडि लुकेको छ एक अद्भुत कहानी – जसले हामीलाई फर्काएर लैजान्छ त्यो युगमा, जब मानिसहरूले प्रकृतिसँग तादात्म्य बनाएर आफ्नो बसोबास गर्थे ।
यस ठाउँमा बसोबास गर्ने पुराना व्यक्तित्वहरूको भनाई अनुसार दूधे कैंजले कुनै एउटै ठाउँ नभएर दुई छुट्टै स्थानको संयोजन हो । दूधे र कैंजले – यी दुवै नाम नै प्रकृतिका अनुपम उपहारका प्रतीक हुन् ।
यस क्षेत्रमा छ दशकभन्दा बढी जीवन व्यतित गर्नुभएका वडा नम्बर ९ का पूर्व वडाध्यक्ष तथा शिक्षाप्रेमी छविलाल पाठकका अनुसार दूधे नामको उत्पत्ति दुईवटा सम्भावित कारणले भएको देखिन्छ । पहिलो, महेन्द्र राजमार्गमाथि झापा तुलसीबारीतिरका “साइला कार्की” लगायतका व्यक्तिहरूले ठुलठुला भैंसीका गोठहरू राखी जीवनयापन गर्ने गरेको, अनि तत्कालीन समयमा दूधको मूल्य नहुने, खायो पियो अनि रहेको दूध फालिदिने गरिन्थ्यो । त्यो दूध हालको बजार नजिकैको खोल्सामा सेताम्मे भएर बहन्थ्यो, दूध बहने खोल्सी भएकाले “दूधे खोल्सी” हुँदै “दूधे बजार” नाम रहन गएको अनुमान छ ।
दोस्रो, यस क्षेत्रमा पहिले दूध जस्तै सेतो रस निकाल्ने रूखहरू अधिक थिए । यस्ता रूखहरूको अधिकताले गर्दा मानिसहरूले यो क्षेत्रलाई “दूधे” भन्न थालेका हुन सक्छन् ।
त्यस्तै हालको सहिद भीमनारायण आधारभूत विद्यालय क्षेत्रमा कैंजल जातका वनस्पतिको बाक्लो जङ्गल भएको र त्यही रूखको नामबाट उक्त क्षेत्र आसपासलाई सो समयमा कैंजले नामले चिनिन्थ्यो ।
यसरी सरसर्ती सुन्दा र बुझ्दा महाभारतकालीन इतिहाससँग जोडिएको चिल्लागढ धाम र सताक्षीधाम नजिकै हुनुले यो क्षेत्र धार्मिक महत्वका साथ जोडिएको अनुमान लगाउन सकिन्छ । “दूध मात्र दिने रूखहरूको जङ्गल” हुनुको पछाडि पक्कै पनि केही आध्यात्मिक वा प्राकृतिक कारण हुनसक्छ । यस बारे खोजिनीति गर्नु आवश्यक देखिन्छ ।
समयको प्रवाहमा यी दुबै क्षेत्रका मानिसहरूको घरपरिवार र सामाजिक सम्बन्धहरू जोडिँदै गए । नातागोता, व्यापारिक सम्बन्ध र दैनिक जीवनयापनका कारणले यी दुबै ठाउँ एक–अर्कासँग यत्ति घनिष्ठ भए कि मानिसहरूले दुवैलाई जोडेर “दूधे कैंजले” भन्न थालेका रहेछन् ।
तत्कालीन समय झापामा बसोबास गर्ने मानिसहरूको कथा भन्नु भनेको मृत्युसँग जुध्दै जीवन बिताउने एक महाकाव्यको कथा भन्नु हो । कालाजार जस्तो घातक रोगले आतंकित भएको भूमिमा बसोबास गर्नु आफैमा एक अचम्मको कुरा हो, तर झापाका मानिसहरूले यो असम्भव देखिने कार्यलाई सम्भव बनाए ।
झापाको तराई भूमि सुरुदेखि नै प्राकृतिक सम्पदाले भरिपूर्ण थियो । घना जङ्गल, उर्वर माटो र पानीका स्रोतहरूले यस क्षेत्रलाई बसोबासका लागि आकर्षक बनाएको थियो । तर यही प्राकृतिक वातावरणमा लुकेर बसेको थियो कालाजारको डरलाग्दो संसार । बालुवा माक्सिकाको डंकमा छुपेर बसेको “लिसमानिया“ नामक परजीवीले मानिसहरूको जीवनलाई निरन्तर चुनौती दिइरहेको थियो ।
तर के कारणले मानिसहरूले यस्तो जोखिमपूर्ण ठाउँमा बसोबास गर्ने साहस गरे ? यसको जवाफ खोज्दै जाँदा हामी भेट्छौं जीवनको कठोर वास्तविकताहरूसँग । अधिकांश बसोबासीहरू थिए गरिबी र भोकमरीबाट पीडित । उनीहरूका लागि कालाजारको जोखिम भोकमरीको निश्चित मृत्युभन्दा कम डरलाग्दो थियो । तर त्यसका बाबजुद पनि मानिसहरू झापामा आएर बसे यो सिलसिला दूधेमा पनि रह्यो । पछि वि.स. २०२० सालतिर औलो प्रभावित क्षेत्रहरुमा औलो रोग निवारणका लागि डी.डी.टी. नामक एक प्रकारको औषधी छरेपछि केही निर्मूल भएको जानकारहरू बताउँछन् । त्यसपछि भने झापा झर्ने मानिसहरूको ताँती लागेको सुन्न सकिन्छ ।
विशेष कुरा के हो भने विक्रम संवत् २०२० सालभन्दा अघि दूधे कैंजलेलाई “दूधे कैंजलेको तरी” नामले चिनिन्थ्यो रे ।हाल आएर सम्पूर्ण क्षेत्रलाई दूधे नामकरण गरिन्छ, कैंजले नाम पनि आफै हराएर गयो ।
दूधे आसपास क्षेत्रमा वि.सं २०१२ सालदेखि नै मानिसहरूको बसोबास भएको कुरा गर्नुहुन्छ पूर्व शिक्षक नरपति पाठक । तत्कालीन समयमा दूधे बजार उत्तरतर्फ कर्णबहादुर राई, जमिन्दार प्रीतिदल राई, पटवारी प्रीतिदलकै भतिजा झगरसिंह राई, सतारका केही घरहरू भएपनि उनीहरूले दूधेको बजार विकासमा योगदान गरेको भने कहिँकतै भेटिंदैन ।
खास दूधे बजारभित्रको क्षेत्रमा मानिसहरूको बसोबास भने विक्रम संवत् २०१६÷१७ देखि सुरु भएको अनुमान गर्न सकिन्छ । यो आजको हिसाबले झण्डै ६६ वर्षअघिको कुरा हो । दूधे बजारमा बस्ती स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका व्यक्तित्वहरूमा बासुदेव खरेल, हरिप्रसाद मैनाली, चन्द्रप्रसाद बिमली र जमिन्दार फेचादास राजवंशी प्रमुख छन् । यद्यपि आज उहाँहरू हामी बीचमा हुनुहुन्न, तर उहाँहरूको योगदानलाई सम्झिनु हामी सबैको दायित्व हो । उहाँहरूले गर्नुभएको योगदानका कारणले आज हामी “दूधेबासी” भनेर गर्वसाथ भन्न सक्छौँ ।
बस्ती बस्ने र बसाउने क्रममा मानिसहरू बिस्तारै धेरै उब्जनी हुने र सहजता खोज्ने क्रममा नेपालका पूर्वी पहाडी भूभागहरू र भारतका आसाम, मणिपुरबाट पनि आइ यस क्षेत्रमा बसोबास गर्न थालेको पाईएको छ । सनै सनै वि.स. २०१९÷२० सालतिर दूधे क्षेत्रमा आई बसोबास गर्नेहरूमा चन्द्रप्रसाद उप्रेती, बृहष्पति काफ्ले (धामी काफ्ले) ,लोकनाथ पाठक, नारायण पाठक, लक्ष्मीप्रसाद ओडारी, तिलबहादुर कडरिया, काशीनाथ खनाल, मुगीलाल दनुवारलगायत रहेको बुझिएको छ । त्यस्तै २०२१ – २३ सालतिर दूधे बजार आसपास बसोबास गर्ने हरूमा तुलसीराम अधिकारी, जगतबहादुर विष्ट , हरिप्रसाद रिजाललगायत रहेको जानकारहरू बताउँछन् ।
तत्कालीन समयको नामुद बजार बनेर कहलिएको बजार थियो शिवगञ्ज । मानिसहरू आफ्ना दैनिक उपभोग्य सामानहरू खरिद गर्नका लागि शिवगन्ज नै पुग्नुपर्ने बाध्यता थियो । पूर्व शिक्षक नरपति पाठकको सम्झनामा शिवगंजदेखि दूधे आइपुग्नका लागि सानो गोरेटो दुबैपट्टी घना जङ्गलको बाटो भएर व्याङडाँडा, फर्से डाँडा (कुकुरभुका), हालको शिवचौक, फेचादास राजवंशीको कामत, डुम्री बोट (हालको बजगाई निवास), डिल्ली बिमलीको घर आँगन र काका घिमिरेको चिया पसल हुँदै राजमार्गमा निस्कनुपर्थ्यो । मानौ नागबेली बाटो । अहिलेको जस्तो दूधे, नहरचौक, व्याङ्गडाँडा, सिमल चौक हुँदै जाने सीधा बाटो थिएन ।
तत्कालीन समयमा महेन्द्र राजमार्ग निर्माणका क्रममा धुलाम्मे बाटोमा गाडीहरू चल्दथे । रमाइलो कुरा के थियो भने त्यस समयमा आराथुन, कोशी, नेपाल यातायात, मोरङ पशुपति आदि नाम गरेका बसहरूको आवाजबाट नै बसको नाम पहिचान गर्न सकिन्थ्यो । अतित सम्झिदै भन्नुहुन्छ श्रीप्रसाद खरेल “हामी केटाकेटी थियौँ, पूर्वबाट कुन गाडी आयो पश्चिमबाट कुन गाडी आयो हामी गाडीको हरनबाटै चिन्न सक्थ्यौ । गाडी पर्खिन्थ्यौ अनि कुदथ्यौ बसको पछाडि पछाडि ।”
बस्ती बस्ने र जनसंख्या बढ्ने क्रममा मानिसहरूलाई दैनिक उपभोग्य सामानहरूको आवश्यकता परिपूर्ति गर्नका लागि दूधेमा स–साना दोकानहरू खोलिन थाले एवं रितले यस ठाउँमा व्यापार हुन थाल्यो । यस क्षेत्रमा व्यापार गर्न भनी अन्य भूभागबाट आउनेहरूमा अमरचन्द माडवारी, मेमचन्द अग्रवाल, चन्द्रप्रसाद विमलीको चिया पसल, खड्का थरकी एक महिलाको चिया पसल, काका घिमिरेको चिया पसल, बङ्गाली दादाको औषधी पसल, चौहान माईलो, नारायण पाठक, देवीप्रसाद मैनाली, अमृतबहादुर आङबो, लक्ष्मीप्रसाद ओडारी रहेको बुझिएको छ ।
२०२० सालतिर नै राजमार्गमाथि झरना र भालु खोला बीचमा प्रशस्त वस्ती भएको भग्नावशेषहरु भेटिएकाले कहिलेदेखि यो स्थानमा बस्ती बसेको भन्ने भन्न नसकिने नरपति सरको भनाई छ । उहाँका अनुसार तत्कालीन समयमा गोठालो जाँदा जाँतो, ढिकी, पाला, दियो, जलेका घरका खण्डहरहरू, घरायसी सामग्रीहरू लोटाहा, कराही प्रशस्तै भेटिनु भनेको यस ठाउँमा भैँसी गोठ मात्र नभएर मानिसहरूको बाक्लो बसोबास रहेको अनुमान लगाउन सकिन्छ । पछि मान्छे बाक्लिँदै गएपछि तत्कालीन सरकारले २०२५÷२६ सालमा अरु जङ्गल फडानी गरेर बस्ती बसाइएको अभिलेखमा पाइन्छ । तर केही वर्षपछि विक्रम संवत् २०३०÷३२ तिरमा फेरि यो बस्ती उठाइयो र सट्टामा जग्गा दिएर मानिसहरूलाई गोलधाप, बाह्रदशी र पृथ्वीनगर जस्ता ठाउँहरूमा स्थानान्तरण गरियो । यसरी यो क्षेत्र बसोबासको उतारचढावको साक्षी बनेको छ । अझ पनि नर्सरी क्षेत्रमा घर तथा जग्गाहरूको अवशेष भेट्न सकिन्छ ।
तत्कालीन शिवगञ्ज गाउँ पञ्चायतको वडा नं ७, सतासीधाम गाविस हुँदै हाल शिवसताक्षी नगरपालिकाभित्र पर्ने दूधे क्षेत्रको विकास गर्न भनी तत्कालीन समयका पञ्चायत प्रमुख बन्दप्रसाद ताजपुरिया, चन्द्रप्रसाद योङया, वडाध्यक्षहरू हर्कबहादुर थापा, बीरबहादुर घिमिरे, शिवकुमार योङया, पूर्व सांसद तारासम योङयाको देन अतुलनीय छ । उहाँहरूलाई भुलि गए पाप लाग्ला ।
चाहे जे होस् ! यो कहानी केवल ठाउँको इतिहास मात्र नभएर हाम्रो पुर्खाहरूको संघर्ष, साहस र दृढताको जीवन्त प्रमाण हो । हिजोको “दूधे कैंजले” आजको दूधे त्यही अदम्य साहसका उत्तराधिकारीहरूको भूमि हो ।
आजकालका मानिसहरूका लागि “दूधे कैंजले” सुन्दा त्यो अक्षरिक अर्थमा लिएर हाँस्न सक्छन् – दूध दिने केही बिरुवा वा जनावरको कहानी जस्तै । तर यदि तिनीहरूले यसको गहिरो अर्थ बुझ्न सके भने उनीहरूले थाहा पाउनेछन् कि यो त हाम्रो सभ्यताको एक अनमोल धरोहर रहेछ भनेर – जसले सिकाउँछ कसरी मानिसले प्रकृतिसँग मिलेर बाँच्न सक्छ ?, कसरी साना चीजहरूमा पनि आध्यात्मिकता खोज्न सक्छ ? हामी भन्छौं कि आधुनिकता भनेको प्रकृतिलाई जित्नु हो, तर दूधे कैंजलेका हाम्रा पुर्खाहरूले सिकाएका थिए कि साँचो आधुनिकता भनेको प्रकृतिसँग मित्रता गर्नु रहेछ ।
नामकरणको यो यात्रा मानव सभ्यताको सुरुवातदेखि आजसम्म निरन्तर चलिरहेको छ र भविष्यमा पनि चलिरहनेछ । हाम्रो दायित्व यो छ कि हामीले यस समृद्ध परम्परालाई जोगाएर राख्नुपर्छ र आउने पुस्ताहरूलाई सुम्पनुपर्छ । यसले हाम्रो पहिचान झन् मजबुत बनाउँछ र हामीलाई हाम्रो जराहरूसँग जोडेर राख्छ ।
कृतज्ञता
यो लेख पूरा गर्नका लागि इतिहास बताएर सहयोग गर्नुहुने आदरणीय गुरुद्वय नरपति पाठक र श्रीप्रसाद खरेललाई झुकेर नमन गर्दछु । तपाईंहरूका बहुमूल्य संस्मरणहरूले यो लेखलाई जीवन्तता प्रदान गरेको छ ।