झापा, असार ३१ । सहारा नेपालका कर्मचारीलाई दुर्व्यवहार गरेको घटनाको चौतर्फी बिरोध भएको छ ।

यसक्रममा बचत तथा ऋण सहकारी संघ झापाले गलत हर्कत एवं दुर्व्यवहार गर्ने सम्वन्धित व्यक्तिलाई कडाभन्दा कडा कार्वाही गर्न जोडदार माग गरेको छ । संघका अध्यक्ष तुलाराम न्यौपानेले एक विज्ञप्ति जारी गरी यस्ता अवाञ्छित क्रियाकलापले सिङ्गो सहकारी एवम् वित्तीय क्षेत्रलाई तहस नहस गर्ने र सदस्यहरुको मनोबल गिराउने भएकोले सदस्यहरुको आत्मा सम्मानलाई उच्च बनाइ बचत तथा ऋणको कारोबारलाई स्वस्थ बनाउनका लागि यस्तो हर्कत कोही कसैबाट हुन नदिन आग्रह गरेका छन् ।
त्यस्तै सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. का कर्मचारीहरुलाई कर्जा तागेताका लागि ऋणी सदस्यको घरमा जाँदा जुत्ताको माला लगाइदिएर दुर्व्यवहार गरेको बिषयमा मंगलबार सहकारीका व्यवस्थापकहरु आवद्ध रहेको सहकारी ब्यवस्थापक क्लबले खेद प्रकट गरेको छ ।
सहकारी संस्थाका ऋणीहरुले आफूले लिएको ऋण नतिर्ने अभिप्रायले अराजक व्यक्ति तथा समूहहरुसँग मिली ऋणको तागेतामा गएका कर्मचारीहरुलाई अभद्र र अमानवीय व्यवहार गर्नुले कानुनी राज्यको उपहास भएको व्यवस्थापक क्लबले ठहर गरेको छ ।
क्लबले सहकारीमा आवद्ध सदस्यहरुलाई आफूलाई चित्त नबुझेका बिषयहरुमा मुठभेड, हुलहुज्जत, अभद्र र अमानवीय क्रियाकलाप नगरी आफू आवद्ध संस्थामा गई समस्या समाधान गर्नुपर्ने समेत बताएको छ ।
त्यस्तै सहारा नेपाल केन्द्रीय कार्यालयले मंगलवार जिल्ला प्रशासन कार्यालय झापामा ध्यानाकर्षण पत्र बुझाएको छ । सहारा नेपालका उप– निर्देशक दिनेश निरौलासहित सञ्चालक समितिका पदाधिकारीले प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
सहारा नेपालको केन्द्रीय कार्यालय झापा बिर्तामोड २ स्थित चारपानेमा रहेको छ । संस्थाको सेवाकेन्द्रहरु झापामा धेरै रहेकाले त्यस्ता घटनाहरु हुन सक्ने भन्दै प्रजिअको ध्यानाकर्षण गराइएको हो ।संस्थाले कोशी प्रदेशका ६ जिल्लामा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको जनाएको छ ।

यसअघि सहारा नेपाल र एकीकृत कर्मचारी संगठन सहारा नेपाल साकोसले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी यस घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुन बमोजिम हदैसम्म कारबाही गर्न साथै भिडियो सामाजिक संजालमा अपलोड गरी चरित्र हत्या गर्नेलाई समेत कानुन बमोजिम कडाभन्दा कडा कारबाहीको लागि प्रशासनसमक्ष जोडदार माग गरेका थिए ।
सहारा नेपालका कर्मचारीलाई अभद्र व्यवहार गर्नेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । आइतवार मोरङको मिक्लाजुङस्थित मधुमल्ला सेवा केन्द्र अन्तरगतका सेवा केन्द्र प्रमुख रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछानेलाई ऋण असुली तागेता गर्न जाने क्रममा अपशब्द , गाली गलौज, हातपात, जुत्ताको माला समेत लगाई अभद्र व्यवहार गरिएको थियो । सो कार्यमा संलग्न चन्द्रलाल मगरकी पत्नी माया मगर, नैनप्रसाद लिम्बूकी छोरी दुर्गामाया लिम्बू उपर पक्राउ पूर्जी जारी भएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार उनीहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । सादा पोशाकका प्रहरी परिचालन भएसंगै उनीहरु फरार रहेको बताइएको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी पर्नासाथ पक्राउ गर्न प्रहरी टोली खटाइएको छ । सोमवारदेखि प्रहरी टोली परिचालन गरिएपनि ती दुई महिला फेला नपरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रन्जन बरालले बताए ।