झापा, साउन १ । झापा जिल्ला अदालतमा मुद्धा फर्छ्यौट बढेको छ । गत आर्थिक बर्ष २०८० ÷ ०८१ को तुलनामा चालु आर्थिक बर्ष २०८१ ÷ ०८२ मा १३१४ थान बढी मुद्धा फर्छ्यौट भएको हो ।

अदालतका प्रमुख न्यायाधीश उमेशप्रसाद लुइँटेलको अध्यक्षतामा हिजो एक कार्यक्रमका बीच अदालतबाट यो आर्थिक बर्षमा भएका प्रगतिको समीक्षा गरिएको थियो। आर्थिक बर्ष २०८० ÷ ०८१ मा ३६६५ थान मुद्धा फर्छ्यौट भएकोमा यस आर्थिक वर्षमा ४९४९ थान मुद्धा फर्छ्यौट भएको छ। यस आर्थिक वर्षमा ६५ प्रतिशत फर्छ्यौट लक्ष्य राखिएकोमा ६०.४९ प्रतिशत फर्छ्यौट भई लक्ष्यको अनुपातमा ९४.६१ प्रतिशत फर्छ्यौट भएको हो ।

अघिल्लो बर्ष जिम्मेवारी सरी आएका ३५५० र यस बषर्मा नयाँ दर्ता भएका ४६३१ गरी कुल ८१८१ मुद्दामध्ये ४९४९ थान मुद्दा फर्छ्यौट भएको छ भने अब ३२३२ थान मुद्दा विचाराधीन रहेका छन।

म्याद तामेली, मुद्दा ब्यबस्थापन लगायत प्रशासनिक काममा अदालतले दिएको तदारुकताले मुद्दा फर्छ्यौटमा तिब्रता आएको प्रमुख न्यायाधीश लुईटेलले बताए । छिटो छरितो र गुणस्तरीय न्याय प्रदान गर्ने लक्ष्यका साथ न्यायपालिकाको पाँचौ रणनीतिक योजना कार्यान्वयनमा रहेको छ भने झापा जिल्ला अदालतले फरक मुद्दा ब्यबस्थापनअन्तर्गत सरल, सामान्य र बिशेष मार्ग समूहका मुद्दालाई निर्धारित अवधिमा फर्छ्यौट गर्ने, मेलमिलाप पद्धतिलाई बढी अवलम्बन गर्ने एवं अदालतप्रति जनआस्था अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकता राखेको हुँदा सरोकारवालाहरुको समन्वय र सहयोगको अदालतले अपेक्षा गरेको प्रमुख न्यायाधीश लुईटेलले बताए ।

प्रमुख न्यायाधीश लुईटेलको अध्यक्षतामा भएको बार्षिक प्रगति समीक्षा कार्यकममा न्यायाधीशहरु प्रकाशकुमार अधिकारी, महेन्द्रप्रसाद पोखरेल, तेजबहादुर खड्का, नबीनकुमार जोशी, नगेन्द्र केशरी पोखरेल, रामप्रसाद पौडेल, ऋतबहादुर पुलामी मगर, जिल्ला न्यायाधीवक्ता खडिन्द्र कटुवाल, झापा बार अध्यक्ष बसन्त नेपाल, बरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य, अधिवक्ता हेमकला कट्टेल आचार्य, अदालतका तहसीलदार उमेश सापकोटा, शाखा अधिकृत लगायत कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन अदालतका सूचना अधिकारी तथा प्रशासन शाखाका शाखा अधिकृत रामचन्द्र बस्नेतले गरेका थिए ।

सोही कार्यक्रमको अवसरमा यस आर्थिक वर्षमा झापा जिल्ला अदालतमा बढी मुद्दा फर्छ्यौट गरी बक्यौता मुद्दा न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने न्यायाधीश तेजबहादुर खड्कालाई अदालतले सम्मान गरेको थियो।

मुद्दाको चाप बढिरहेको अबस्थामा छिटो छरितो र प्रभावकारी न्याय सम्पादन गरी जनविश्वास बढाउन झापा जिल्ला अदालतमा फरक मुद्दा ब्यबस्थापन पद्धति, स्वचालित पेशी प्रणाली, दैनिक पेशी छनौटमा गोला पद्धति, मुद्दा दर्ता सफ्टवेयरमा ईन्ट्री हुने र अदालतको कामकारवाहीको विवरण वेबसाइटबाट हेर्न सकिने जस्ता नवीनतम् प्रविधिलाई आत्मसात गरिएको शाखा अधिकृत बस्नेतले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्