झापा, साउन १ । राजनीतिक शक्तिको आडमा अवैध धन्दा गर्दै आएका बिर्तामोडका भानुभक्त खरेलको गोदाममा छापा मारी प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित औषधीजन्य लागूऔषध बरामद गरेको छ ।

नेकपा एमालेका सक्रिय कार्यकर्ता तथा पार्टीनिकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ झापाका पदाधिकारी रहेका खरेलको बिर्तामोड ५ मंगलदीप टोलमा रहेको गोदाममा छापा मारेर प्रहरीले औषधीजन्य लागूऔषध बरामद गरेको हो । खरेल सनलाइट फर्माका संचालक हुन् । खरेलले मनकुमार संग्रौलाको घर भाडामा लिएर दुईवटा गोदाममा ती औषधी राखेका थिए ।
औषधीजन्य लागूऔषध फेला परेको पुष्टि गर्दै इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले त्यसबारे अनुसन्धान भइरहेको जानकारी दिए । उनले अहिलेसम्मकै ठूलो परिमाणमा औषधीजन्य लागूऔषध फेला परेको बताउँदै भोलि विहान पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिने बताए । प्रहरीले एकजना कामदारलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय विनोद घिमिरे हुन् । औषधी व्यवसायी खरेल भने यो समाचार तयार पारुन्जेलसम्म फरार थिए ।
प्रहरीले बरामद औषधीजन्य लागूऔषधको परिमाणबारे नबताएपनि हजारौ क्याप्सुल ट्रामाडोललगायतका प्रतिबन्धित औषधी रहेका छन् । खरेलले बिर्तामोडकै धर्मकाँटा रोडमा सनलाईट फर्मा नामक पसलबाट औषधीको थोक बिक्री गर्दै आएका छन् । खरेलले औषधीको थोक बिक्रेताको आवरणमा बर्षौबाट सेटिङ मिलाएर लागूऔषधजन्य औषधीको कारोबार गर्दै आएको बताईएको छ । उनी बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिहरुको प्रिय पात्र मानिन्छन् ।