झापा,साउन २ । विराटनगरस्थित इलाका प्रहरी कार्यालय (इप्रका), रानीको परिसरभित्रै तीन जना श्रमिकलाई हिरासतमा लिएर निर्घात कुटपिट गरिएको आरोप लागेको छ ।

पीडितहरूका अनुसार सादा पोसाकका एक प्रहरीले पाइप र बुट प्रयोग गरी उनीहरूमाथि आक्रमण गरेका थिए । कुटपिटपछि तीनै जना घाइते भएका छन् । एक जनाको अवस्था भने गम्भीर छ । उनलाई विराटनगरस्थित कोशी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
पीडितहरूमा बुढीगंगा गाउँपालिका–४ का ३९ वर्षीय नासिर मिया, ३० वर्षीय कासी शर्मा र ३४ वर्षीय रमान मिया रहेका छन् । उनीहरू ‘जनसेद मिया मल्टिप्रपोज प्रालि’ नामक कम्पनीमा कार्यरत हुन् । जसले मोरङ–सुनसरी क्षेत्रमा ट्रान्सफर्मर मर्मत तथा जडानको ठेक्का लिएको छ ।
कम्पनीका सञ्चालक जनसेद मियाका अनुसार पछिल्लो समय बढेको ट्रान्सफर्मर चोरीका घटनाबारे सोधपुछ गर्न भन्दै प्रहरीले उनीसहित १० जनालाई बोलाएको थियो । ‘हामीलाई दावा शेर्पा नाम बताउने व्यक्तिले फोन गरेर जिल्ला प्रहरी कार्यालय बोलाएका थिए, तर पछि इप्रका रानीमा आउन भनियो,’ उनले भने ।
प्रहरी कार्यालय पुगेपछि तीनै जना श्रमिकलाई छुट्टाछुट्टै कोठामा लगेर ‘ट्रान्सफर्मर कसले चोर्यो ?’ भन्दै कुटपिट गरिएको पीडित पक्षको दाबी छ । सञ्चालक मियाले भने– ‘पहिले कासीलाई पाइपले, त्यसपछि नासिरलाई बुट र थप्पडले हान्दा उनको कानको जाली नै फुट्यो । रमानलाई पनि कुटियो ।’
कुटपिटपछि प्रहरीले घटना बाहिर ल्याएमा लागुऔषध मुद्दामा फसाइदिने धम्की दिएको पीडितहरूले बताएका छन् । डरले चुपचाप घर फर्किए पनि नासिरको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । उपचारमा संलग्न चिकित्सकका अनुसार, नासिरको कानको जाली फुटेको छ र टाउकोमा भित्री चोट लागेको आशङ्कामा सिटी स्क्यान गरिएको छ, यद्यपि स्वास्थ्य जाँचको रिपोर्ट आउन बाँकी छ । अन्य दुई जनाको अवस्था सामान्य छ ।
यता, इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक कविन राईले घटनाबारे अनभिज्ञता प्रकट गरेका छन् । ‘हाम्रो कार्यालयमा ‘दावा’ नामको कोही प्रहरी छैन र उहाँहरू यहाँ आएको कुनै रेकर्ड पनि छैन,’ उनले भने, ‘यद्यपि, घटनाबारे जिल्लाबाट जानकारी आएकाले म आफैँले अनुसन्धान अघि बढाएको छु ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्