झापा,साउन ४ । इलाममा लगातारको वर्षाका कारण दुई स्थानमा पहिरो खस्दा दुई घरमा सामान्य भौतिक क्षति पुगेको छ।

साउन ३ गते साँझ करिब ७ः३० बजे इलाम नगरपालिका–५ मान्द्रणीस्थित पूर्ण शंकरको घरमाथिबाट आएको पहिरोले टिनको छानो, ढुंगामाटो र काठले बनेको एकतले घरको पूर्वतर्फको कोठा पूर्ण रूपमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
घटनामा कुनै मानवीय वा चौपाया क्षति नभएको र तत्कालै अस्थायी प्रहरी पोष्ट बिब्ल्याटेबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर विवरण संकलन गरेको जनाएको छ।
त्यस्तै, साउन ४ गते बिहान करिब ४ः०० बजे फाकफोकथुम गाउँपालिका–५ माल्टेनीका झगर सिंह मुखियाको घरमाथिबाट खसेको पहिरोले टिनको छानो, ढुंगामाटो र काठले बनेको एकतले घरको भित्तो भत्किएको छ।
घर आंशिक रूपमा क्षतिग्रस्त भएपछि त्यहाँ बसोबास गर्न नसकिने भएको र चारजनाको परिवार हाल डम्बर सिंह मुखियाको घरमा आश्रय लिएको प्रहरीले जनाएको छ। अन्य घरहरूमा पहिरो पुुग्ने सम्भावना नरहेको र कुनै मानवीय वा पशुजन्य क्षति नभएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मान बहादुर राईले जानकारी दिए।