झापा,साउन ४ । नेकपा एमालेले यसअघि विधानमा रहेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ ।


पोलिटब्युरो बैठकले ७० वर्षे उमेर हद र विधानमा रहेको नेतृत्वमा २ कार्यकाल भन्ने व्यवस्था संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको हो ।
बैठकमा उपाध्यक्ष विष्णु पौडेल प्रस्तावित विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार संशोधन प्रस्तावमा मुख्य गरी पार्टीमा अबदेखि सङ्गठित र साधारण गरी दुईथरी सदस्यताको व्यवस्था रहने प्रस्ताव पारित गरिएको छ । त्यस्तै बैठकले जिल्ला कमिटीलाई कार्यकारी कमिटी हुने प्रस्ताव पनि गरेको छ ।
बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा सक्रिय हुने विषयमा भएको छलफलमा अधिकांश सदस्यले बेठिक रहेको धारणा राखेका छन् । साथै भण्डारीलाई अहिले नै अध्यक्ष बनाउन नहुने पक्षमा सदस्यहरू उभिएका छन् । यद्यपि त्यसबारे अर्को कमिटीबाट निर्णय गर्ने एमालेले जनाएको छ ।

‘राष्ट्रको सर्वोच्च पदमा पुगेको व्यक्ति राजनीतिमा आउनु ठिक होइन भन्ने धारणा आएको छ । साथै उहाँलाई अहिले नै एमालेले अध्यक्ष बनाएर जाने सम्भावना छैन’, गौतमले बैठकको सार सुनाउँदै भने, ‘तर त्यसबारे अर्को कमिटीमा छलफल हुन बाँकी छ ।’

बैठकमा गोरख बोगटी, अग्नि खरेल, भीम आचार्य, मुकुन्द न्यौपाने, भानुभक्त ढकाल, केशव बडाल, गोकुल बास्कोटा, हिक्मत कार्की, थममाया थापा, लीला श्रेष्ठ, गोकुल घर्तीमगर, राजेन्द्र गौतम, लीला गिरी, जगत विक, कमल चौलागाईं, ईश्वरबहादुर रिजाल, जितु गौतम, विनोद श्रेष्ठ, सुमन प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, रामदयाल मण्डल, दलबहादुर राणा, देवेन्द्र दाहाल, अरुण नेपाल, गोकुल घर्तीमगर लगायतले विधान संशोधन मस्यौदामाथि धारणा राखेका छन् ।
बैठकमा पोलिटब्युरो सदस्य महेश बस्नेतले ११ औँ महाधिवेशनमा ओलीले नै पार्टी नेतृत्व गर्नुपर्ने बताए । पछिल्ला दिनमा प्रचण्ड, कांग्रेस नेता शेखर कोइराला र विद्या भण्डारीको भेटवार्तालाई बस्नेतले एमाले कमजोर पार्ने चाल भएको टिप्पणी गरे ।
‘अहिले प्रचण्ड, शेखर र विद्या भण्डारी मिलेर सत्ता समीकरण खोज्दै छन् भनेर अमरेश सिंहले भने,’ बस्नेतले भनेका छन्, ‘चीन भ्रमणदेखि नारायणकाजी, शेखर कोइरालासँग विद्या कमरेडको भेटघाट र ‘सहयोग माग’ वाम एकताको नाममा फेरि एमाले कमजोर पार्ने चालमा कम्युनिस्ट विरोधी तत्त्व सल्बलिएका छन् ।’
तर,अर्का पोलिटब्युरो सदस्य आनन्द पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा निषेध गर्न नहुने धारणा राखेका छन् । बरु उनले भण्डारीलाई खुला स्वागत गरेर काममा लगाउन अध्यक्ष ओलीलाई आग्रह गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्